नेभिगेशन
राजनीति

पहिरोले अवरुद्ध उत्तर दक्षिण कोशी राजमार्ग १० घण्टापछि सञ्चालन

सङ्खुवासभा- उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी भोटखोला सडकखण्ड सञ्चालन भएको छ । 

पहिरो हटाएपछि अवरुद्ध यातायात झण्डै १० घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान ६:३० बजे अविरल वर्षासँगै आएको बाढीले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी भोटखोला सडकखण्डको मकालु गाउँपालिका-३ आलफाट्टेमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । 

खाँदबारी-भोटखोला सडकखण्डको मकालु गाउँपालिका–३ आलफाट्टेमा स्काभेटर पहिरो हटाएपछि आज दिउँसो ४ बजेदेखि सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । 

उत्तर दक्षिण कोशी सडक कार्यालयको स्काभेटरको सहयोगमा पहिरो हटाएर सडक सञ्चालन गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । रातभरको वर्षापछि आएको बाढीले खाँदबारी–भोटखोला सडक खण्डको कच्ची सडक बगाएको थियो । 

सो क्षेत्रमा लगातार पहिरो खसिरहने भएका कारण बेलाबेला राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ । भोटखोलाका लागि सदरमुकाम खाँदबारीबाट दैनिक एक दर्जनभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति