नेभिगेशन
खेलकुद

रोबर्टो कार्लोसलाई हेर्न किन मान्छे रंगशाला पुगेनन् ?

रोबर्टो कार्लोसलाई हेर्न किन मान्छे रंगशाला पुगेनन् ?

फुटबल विश्वका एक लिजेन्ड, ब्राजिलका विश्वकप विजेता डिफेन्डर रोबर्टो कार्लोस नेपाली माटो टेक्दै दशरथ रंगशालामा पुगे। उनी नेपाल सुपर लिग अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अतिथि बनेर रंगशालामा उपस्थिति जनाए। तर, उनको आगमनले अपेक्षित उत्साह भने ल्याउन सकेन। रंगशालाको अधिकांश भाग खाली थियो — करिब ७० प्रतिशत सिटहरू सुनसान देखिन्थे।

यसो हुनु सामान्य होइन। केही महिना अघि, इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोन नेपाल आउँदा दशरथ रंगशाला खचाखच भरिएको थियो। दर्शकको भीडलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे  परेको थियो। टिकट नपाएर फर्कनु परेका फ्यानको गुनासो सामाजिक सञ्जालभरि देखिन्थ्यो।

तर, कार्लोसको उपस्थितिमा यत्रो विपरीत अवस्था किन आयो?

१. प्रचारप्रसारको चरम कमी

सर्वप्रथम कुरा हो — प्रचारको अभाव। बुफोनको आगमन केही हप्ता अघिदेखि नै देशभर चर्चा थियो। सोसल मिडिया, अनलाइन मिडिया सबैले बुफोनको आगमनलाई "सेलिब्रेशन" जस्तो बनाए।

तर कार्लोसको आगमनबारे प्रचार भने निकै ढिलो, सीमित र कमजोर रूपमा भयो। धेरैलाई खेल हुनै लागेको दिन मात्र थाहा भयो कि "रोबर्टो कार्लोस नेपाल आएका रहेछन्"। यस्तो सूचनाको ढिलाइले दर्शक आकर्षणमा सीधा असर गर्‍यो।

२. नेपाल सुपर लिगप्रतिको कमजोर जनधारणा

नेपाल सुपर लिग आफैंमा हालसम्म दर्शकमाझ व्यापक जनसमर्थन बटुल्न सकिरहेको छैन। क्लबको संरचना, समर्थक समूहहरूको संलग्नता र स्थायीत्व अझै विकासको चरणमै छ। यस्तो अवस्थामा ठूला खेलाडीको आगमनको प्रभाव एनएसएलको  माध्यमबाट पूरा दर्शकसम्म पुर्‍याउन झनै चुनौतीपूर्ण भएको देखियो।

३. स्थानिय खेलप्रेमीको प्राथमिकता र जानकारी अभाव

नेपाली फुटबल दर्शकहरू अझै पनि स्थानीय प्रतियोगिता, राष्ट्रिय टोलीको अन्तराष्ट्रिय खेलप्रति बढी भावुक देखिन्छन्। सुपर लिग जस्तो फ्रेन्चाइज प्रणाली अझै जनमानसमा जरा गाड्न सकेको छैन।

त्यसमा पनि, दर्शकलाई कार्लोसजस्ता खेलाडी को हुन्, उनी किन विशेष छन् भन्ने बुझाउने प्रयास पनि भएको देखिएन। एक पुस्ताका फ्यानलाई उनी नाम मात्र लाग्न सक्छन् — यदि प्रचारमा उनको इतिहास, उपलब्धि र महत्व प्रस्ट्याइएको भए, सम्भवतः फ्यानहरूको उत्सुकता अझ बढ्थ्यो।

४. समय, दिन र जनजिवनसँग तालमेल

खेल शनिबार, सार्वजनिक बिदाको दिन वा साँझको उपयुक्त समयमा परेको भए, दर्शकको संलग्नता बढ्न सक्थ्यो। 

५. पहिल्यै खल्लो बनेको एनएसएलको वातावरण

एनएसएलको अघिल्ला खेलहरूमा पनि दर्शकको उपस्थिति अत्यन्तै न्यून देखिएको छ। त्यो पनि कारण हो — दर्शकले मैदानमा "फ्यान एक्स्पेरियन्स" अनुभव गर्न पाउँदैनन् भने उनीहरू दोहोरिँदैनन्। खेलको स्तर, स्टेडियमको सुविधा, गीत-संगीत वा मनोरञ्जनको माहोल — यी सबै मिलेर दर्शकलाई आकर्षण गर्छन्। जुन तत्वहरू अहिलेको एनएसएल मा प्रस्ट देखिन्नन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद