नेभिगेशन
समाज विविध

आकस्मिक बाहेक सबै स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा

काठमाडौं - नेपाल चिकित्सक संघले भोलि (शुक्रबार) सम्पूर्ण निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

आज (बिहीबार) विज्ञप्ति जारी गर्दै चिकित्सक संघले आकस्मिक तथा सघन उपचार सेवा जस्ता अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरूमा सहभागी नहुन आह्वान गरेको हो । यस्तै, उपत्यका भित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू बिहान ११ बजे माईतीघर मण्डलामा भेला भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र उपत्यका बाहिर जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।


नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीद्वारा जारी विज्ञप्तिमा ‘आवासीय चिकित्सकहरूले हालसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको र ठाउँ ठाउँबाट धम्की आएको’ भन्दै आन्दोलन जारी राख्ने उल्लेख गरिएको छ।निर्वाह भत्ता नदिने निजी कलेज सञ्चालकहरुको अटेरीविरुद्ध पोस्ट ग्रेजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले केही दिनयता प्रदर्शन गरिरहेका छन् ।

चिकित्सकहरुले आफूहरुको श्रम शोषण भएको भन्दै बिहीबार पनि माइतीघरस्थित स्वास्थ्य मन्त्रालय अगाडि प्रदर्शन गरेका थिए । चिकित्सा शिक्षा आयोगले तय गरेको आठौं तह (४८ हजार मासिक) भत्ता दिनुपर्ने उनीहरुको माग छ । तर, निजी कलेज सञ्चालकहरु आफूहरुले त्यो दिन नसक्ने बताइरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध