नेभिगेशन
समाज विविध

शिक्षकको प्रदर्शन २४ औँ दिनमा : अदालतको आदेशले आन्दोलन नरोकिने

काठमाडौं – काठमाडौंको सडकमा २४ दिनदेखि निरन्तर प्रदर्शनरत शिक्षकको आन्दोलन नरोकिने भएको छ। बिहीबार काठमाडौंमा आन्दोललित शिक्षकहरूलाई अबको तीन दिनभित्र विद्यालय फर्किन सर्वोच्च अदालतले आदेश जारी गरे पनि शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकको लडाइँ जारी रहेको बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो लडाइँ राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग छ। अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्र विरुद्ध छ। त्यसैले हाम्रा अभिव्यक्ति र व्यवहार त्यही अनुकूल हुनुपर्छ।’’ उनले अदालतको प्रशंग उल्लेख नगरी आन्दोलन जारी रहने बताएका हुन्। अध्यक्ष सुवेदीले भनेका छन्, ‘हाम्रो आन्दोलन जारी छ। सदा झैं ठिक ११ बजे माइतीघर मण्डला आइपुग्नुहोला।’

बिहीबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै शिक्षकलाई तीन दिनभित्र विद्यालयमा फर्किन आदेश दिएको थियो।

‘आन्दोलित शिक्षकहरूका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ सर्वोच्चले आदेशमा भनेको छ।

शिक्षकहरू २४ दिनदेखि आन्दोलित हुँदा नयाँ शैक्षिक सत्रको पठनपाठन अझै सुरू भएको छैन। यस्तो अवस्थामा अधिवक्ता श्रवणकुमार चौधरीले रिट दायर गरेका थिए। शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य अन्यौल बनाएको उनको जिकिर थियो।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

बारपाकीले बिर्सन नसकेका भूकम्प