नेभिगेशन
समाज विविध

बिहान सँगै भात खाएपछि के–को बलात्कार? पाटन उच्च अदालतको आदेशमा अरु के–के छ?

काठमाडौं– पाटन उच्च अदालतले जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै बलात्कार अभियोगमा जेलमा रहेका कपिलवस्तु जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरी थुनामुक्त भएका छन्।

गत बर्षको चैत ३१ गते आइतबार उच्च अदालत पाटनबाट सफाइ पाएका गिरी पूर्पक्षका लागि जेल पुगेका थिए तर फैसला उल्टियो।

जिल्ला अदालत काठमाडौंबाट २०८१ साल जेठ १३ गते बलात्कारमा दोषी ठहर गर्नेगरी भएको फैसला उल्टियो। कान्छी श्रीमती आरती रावलले दिएको जाहेरीका आधारमा मुद्दा चलेको थियो।

आरतीले आफूमाथि ८ पटक जबरजस्ती करणी भएको दाबी गरेकी थिइन्। 

काठमाडौं जिल्ला अदालतको आदेशपछि न्यायाधीश गिरी डिल्लीबजार सदरखोर पुगे। तर यो मुद्दा जब उच्च अदालतमा पुग्यो अनि आयो ‘उमेर पुगेका व्यक्तिबीच हुने शारीरिक सम्बन्धलाई स्वतः जबरजस्ती करणीको कसुर भन्न नमिल्ने’ ब्याख्यासहितको आदेश।

रावलले २०७९ साल २७ चैत रातिदेखि २८ गतेसम्म ८ पटक जबरजस्ती करणी गरेको भन्ने अभियोग दाबी रहे पनि जाहेरवालाको बकपत्रमा ‘बिहानको खाना पकाई साथै खाएको’ भन्ने बयानबाट घटना शंकारहित हिसाबले स्थापित हुन नसक्ने ठहर अदालतको थियो। 

गएको सोमबार गिरी जेलमुक्त भएका थिए। 

यसरी जोडियो गिरी र आरती सम्बन्ध 
२०७५ सालमा गिरीले आरतीसँग बिहे गरे। २०७९ मंसिरमा आरतीले कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा वैवाहिक बलात्कारको जाहेरी दिइन्। मुद्दा चलिरहेकै थियो। त्यही बेला आफूलाई जबरजस्ती करणी गरेको आरोपमा अर्को जाहेरी हालिन्। 

जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न आदेश गरे। त्यसपछि आरती सर्वोच्च अदालतको गेटमा अनशन बसिन्। इजलासमा बहस चलिरहँदा विषसमेत पिइन्। यता, सर्वोच्चले उच्च र जिल्लाको धरौटी आदेश उल्ट्याउँदै २०८० चैत २१ गते गिरीलाई पुर्पक्षका लागि थुनामै राख्न भन्यो। 

फैसला हुँदा जिल्ला अदालत काठमाडौँले सात वर्ष कैद र तीन लाख रूपैयाँ जरिवानाको फैसला सुनायो। जिल्लाको आदेशविरुद्ध गिरी उच्च अदालत पुगे। जिल्लाले गिरीलाई कैद सजायँ कम गरेको दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पनि निवेदन लिएर उच्चमा पुग्यो। फैसला हुँदा आइतबार उच्चले जिल्लाको फैसला उल्टाएर सफाइ दियो।

अदालतले के भन्यो? 
सफाइ दिने फैसलामा २०७९ साल चैत २७ गते काठमाडौँ, सुन्धारामा प्रतिवादी गिरी र जाहेरवाला आरतीबीच भेटघाट भएको, तत्पश्चात् बानेश्वरमा एकसाथ गई चियासागरमा चिया पिएको, बेलुका रेष्टुरेण्टमा खाना खाई गोंगबुस्थित आरतीको डेरामा रात बिताएको, भोलिपल्ट बिहानको खाना पकाएर साथै खाएको तथ्य स्थापित भएको आधार उच्चले लिएको छ। 

गिरीको बयानमा भने आरतीले भेट्न अनुरोध गरेकाले कोठामा कुराकानी गर्दै रात बिताएको भनी कसुरमा पूर्णतः इन्कार रहेको पनि फैसलामा उल्लेख छ। 

यसबाहेक वारदातको समय एउटै ‘फ्याल्ट’ मा रहेकी आरतीकी बहिनीलाई अनुसन्धानको क्रममा बुझ्ने कार्यसम्म नभएको पनि फैसलामा उल्लेख छ। 

घरधनीले गरेको मौकाको कागजमा समेत वारदातका बेला जाहेरवाला आरती र प्रतिवादी गिरीबीच झै–झगडा भएको नदेखिएको आधार पनि लिइएको छ। स्वास्थ्य र प्रयोगशाला परीक्षण प्रतिवेदनले दुईजनाबीच शारीरिक सम्बन्ध भएको देखिने तथ्य स्थापित हुन नसकेको ठहर गरिएको विषयबारे जनआस्था साप्ताहिकको अनलाइन संस्करणले जनाएको छ।

‘जाहेरवालाले शारीरिक परीक्षणका क्रममा यौनांगमा दुखाइ रहेको भने पनि निजको शरीरका कुनै पनि अंगमा तत्काल कुनै चोट पटक रहे भएको भन्नेसमेत परीक्षण प्रतिवेदनमा उल्लेख भएको देखिँदैन,’ फैसलामा भनिएको छ, ‘उमेर पुगेका व्यक्तिहरूबिच हुने शारीरिक सम्बन्धलाई स्वतः जबरजस्ती करणीको कसुर भन्न मिल्दैन। यस्तो अवस्थामा जबरजस्ती करणीजस्तो फौजदारी कसुर स्थापित हुनलाई सोहीबमोजिम न्यायिक दृष्टिकोणबाट हेरिनुपर्ने हुन्छ।’

विवाहित महिलाले आफ्नो पतिसँग आफ्नो हक अधिकारका लागि न्यायिक आवाज उठाउनुलाई अन्यथा भन्न नमिल्ने भए पनि जबरजस्तीकरणी जस्तो जघन्य कसुर र पत्नीले पतिबाट प्राप्त गर्नुपर्ने पारिवारिक सम्मान सम्बन्ध तथा हक अधिकारका विषयहरू फरक–फरक रहेको विश्लेषणसमेत उच्च अदालतले गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध