नेभिगेशन
राजनीति

देउवाको प्राथमिक प्रतिक्रियाले ओलीको आँतमा राहत, प्रचण्डको बातले बेचैनी

काठमाडौं– थाइल्यान्डको बैंककबाट फर्किनासाथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको प्राथमिक प्रतिक्रियाले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आँतमा केही राहत भएको छ।

तर यसले बेचैनी भने रोक्ने संकेत गरेको छैन। देउवाले ‘अहिले त्यस्तो मलाई केही थाहा छैन’ भन्ने प्रतिक्रिया दिए जब पत्रकारले सत्ता समीकरणमा खटपट हो? भनेर सोधेका थिए। 

देउवाले भने,‘मलाई थाहा छैन। त्यस्तो छैन।’

यद्यपि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार ढल्ने अवस्थामा रहेको टिप्पणी गरेका थिए। 

यसै पनि नीति तथा कार्यक्रम र बजेट भाषणसम्म सरकार ढल्ने अवस्थाले बार्षिक आयव्यय क्यालेन्डर प्रभावित हुने भएकाले आगामी १५ जेठसम्म सरकार परिवर्तन हुने सम्भावना कम रहेको आँकलन गरिन्छ। 

सरकारले १७ गते नीति कार्यक्रम र त्यसको सातादिनमा प्रि बजेट ल्याउने भएको छ। यसपछि पूर्ण बजेट जेठमा आएपछि भने सत्ता समीकरणमा फेरि हलचल हुन सक्ने सम्भावना पनि रहेका छन्।

‘अहिले नै नेताहरुले तत्कालै सरकार फेरिन्छ भन्नुले देशको अर्थतन्त्रमा पनि असर पर्ने भएकाले स्पष्ट भन्दैनन्। तर, यी अकास्मात् हुने परिघटना हुन्’, कांग्रेसका एक नेताले भने।

हावा नचली पात हल्लिन भने जस्तो जसरी प्रचण्ड नेतृत्वको सरकार ढलेको थियो, सोही शैलीमा ढल्न सक्ने अनुमान पनि गरिन्छ। देउवा र ओलीको भेट १७ असारमा भयो र त्यसको केही दिनमा नै प्रचण्डको सरकार ढलेको थियो। यो हतारमा भएको राजनीतिक घटना थियो। 

प्रचण्डले यसैलाई उदाहरण दिँदै भन्ने गरेका छन्,‘बाँचे पनि मरे पनि सँगै स्वर्ग जाने भनेर भनियो, सरकार केही हुन्न भनियो। कहिले छापेछ पत्रिकाले? पुरानो होला भनियो। तर सहमति भैसकेर सरकार ढाल्ने निधो भैसकेको रहेछ।’

यहि शैलीमा नै ओली सरकार पनि ढल्न सक्ने धेरैले अनुमान गरेका छन्। यसमा कांग्रेसभित्रको र त्यसमा खासगरी देउवाको चाहनाले काम गर्ने स्पष्ट देखिन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति