नेभिगेशन
राजनीति

कांग्रेस महाधिवेशनअघि नै संविधानको प्रस्तावनामा लेखिँदैछ ‘सनातन बैदिक धर्म सापेक्ष’

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा हिन्दू राष्ट्र नेपालको मुद्दा प्रवेश अगाडि नै संविधान संशोधन गरी ‘सनातन वैदिक धर्म सापेक्ष’ लेख्ने लगभग तय भएको छ।

उच्च स्रोतका अनुसार विविध घटनाक्रम र देशभित्र उठेका आवाजसहित छिमेकका चासोका आधारमा पनि यहि विन्दुमा पुग्नुपर्ने अवस्था आइरहेको छ।

यस मुद्दाको नेतृत्व नेपाली कांग्रेसले गर्न सक्ने बताइन्छ। पछिल्ला दिनमा नेपाली कांग्रेसका कतिपय नेताको भेट भारतीय हिन्दू कट्टरपन्थी भारतीय जनता पार्टीका नेता र त्यहाँका मन्त्रीसँगको भेट यहि शिलशिलाको निरन्तरता रहेको पनि बताइएको छ।

खासगरी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित राष्ट्रिय स्वयम् सेवक दलका नेतासँगका निरन्तरका संवाद यसका ‘इन्डिकेटर’ रहेको बताइन्छ। 

यो विषयको विरोधमा कम्युनिस्ट शक्ति लागे पनि कांग्रेस संस्थापन मौन छ। तर, यस पार्टीभित्र केही नेता मात्र धर्म सापेक्षताको बिरोधमा रहेका छन्। ‘तिनीहरु पनि यहि अडानको पक्षमा उभिन पुग्नेछन्’, उच्च स्रोतले भन्यो।

कांग्रेसमा कृष्ण सिटौला, विमलेन्द्र निधि, गगन थापा र विश्वप्रकाश शर्माहरू जति उफ्रिए पनि सभापति शेरबहादुर देउवा भने यस विषयमा मौन छन्। संविधान संशोधनको विषयमा देउवाले नै यो विषयलाई प्रस्तावनाका रुपमा लैजान सक्ने सम्भावना रहेको छ।

कांग्रेसभित्र हिन्दूत्वको वकालत गरिरहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद शंकर भण्डारी भन्छन्,‘हिन्दू राष्ट्र नेपालको पहिचान हो। यो नेपालको मात्र होइन, नेपाली कांग्रेसको पनि एजेन्डा बन्नुपर्छ। केही नेता यसका बिरोधमा लागेर केही हुन्न, बहुमत कांग्रेस जन र महासमिति सदस्य हिन्दूत्वको पक्षमा हुनुहुन्छ।’

त्यसो त १५ महिना अघि मात्र पनि भएको महासमिति बैठकमा बहुमत सदस्यले नेपालको संविधानमा हिन्दू राष्ट्र उल्लेख गर्नुपर्ने भनी लिखित माग गरेका थिए। यस सन्दर्भमा महासमिति बैठकमा भण्डारी आफैंले पनि समय पाएर बोलेका थिए। बहुमत सदस्यले समर्थन गरेका थिए। तर, केन्द्रीय समितिमा केही नेताका कारण यस विषयले प्रवेश पाएन।

‘सभापति यस विषयमा मौन रहनुभयो। उहाँ विपक्षमा पनि रहनुभएन, हिन्दूत्वको माग सुन्नुभयो। तर, किन केन्द्रीय समितिले यसलाई अपनत्वमा लिन चाहेन भने केही नेताका कारणले हो’, भण्डारी भन्छन्,‘तर कहिलेसम्म थेगिएला? त्यो सम्भावना कम छ। यो संविधानमा कांग्रेसको एक मात्र अडान या एजेन्डा पनि यहि स्थापित हुनेछ।’

त्यसो त कांग्रेसको अहिले घटिरहेको मतको एउटा कारण पनि हिन्दूत्वको विपक्षमा उभिनु रहेको नेता भण्डारीको विश्लेषण रहेछ। उनले सुनाए,‘हिन्दूत्व कायम रहेन भने यो राजावादी समूहमा आएका भोट कांग्रेसले पाउला? यीनिहरु सबैले कांग्रेसका कारण नै धर्म मासिएको भनेर भएको मत पनि अन्यलाई बरु कम्युनिस्टलाई नै दिन्छन्।’

कांग्रेसको गत निर्वाचनमा समानुपातिकतर्फ एमालेभन्दा लगभग दुई लाख मत कम आउनुको कारणलाई पनि विश्लेषण गरी योजना र परिस्थिति सम्बोधनको काम कांग्रेसले गर्ने विश्वास गरेका भण्डारी थप्छन्,‘जसले जे भने पनि हाम्रो अडान र अभियानमा हामी निरन्तर छौं। नेता खुमबहादुर खड्कापछि उहाँको यो एजेन्डाको लिड मैले गरिरहेको छु।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति