नेभिगेशन
राजनीति

देउवाजीले सरकार ढल्दैन भनिदिएपछि विचराहरू थुचुक्कै भए : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्छ भनेर अहिले हल्ला गर्नेहरु थुचुक्कै भएको टिप्पणी गरेका छन् ।

आज (शनिबार) एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो हल्ला गर्नेहरु नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार ढल्दैन भनेपछि खत्र्याक्कै भएको बताए ।

‘शेरबहादुर देउवाजीले आइपुग्ने बित्तिकै हिजै जवाफ दिनुभयो, खुइए गरेर पुर्पुरोमा हात लगाएर बसे हल्ला गर्नेहरु विचराहरु,’ उनले भने, ‘त्यति चाहिएको रहेछ । देउवाजीले सरकार ढल्दैन भनिदिएपछि खत्र्याक्कै हुँदारहेछन् । थुचुक्कै।’

‘संसदमा थिति बिनाको ढ्यापढ्यापे शब्द उचित हुँदैन’

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संसद्मा ढ्यापढ्यापे समय हुने गरेको भन्दै त्यस्तो शब्द उचित नभएको बताए । ‘हामी शून्य समयमा बोल्छौं, विशेष समयमा बोल्छौं,’ उनले भने, ‘अर्को एउटा ढ्यापढ्यापे समय भन्ने छ । ढ्यापढ्यापे भन्ने शब्द नै नमिल्दो हो । संसद जस्तो ठाउँमा ढ्यापढ्यापे थिति बिनाको शब्द नै मिल्दैन ।’

यद्यपि, एमाले सांसदहरुले अहिले ढ्यापढ्यापे समयलाई आकस्मिक शब्द भन्ने गरिएको जानकारी गराएका थिए।बैठकमा अध्यक्षले यस अधिवेशनका मुख्य कार्यभार, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत र पारित गर्ने, विद्यमान परिस्थितिलाई बुझेर जनताका समस्याको उठान र समाधानका उपायका लागि खेल्नुपर्ने भूमिकाका सम्बन्धमा सम्बोधन गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति