नेभिगेशन
समाज विविध

२६औं दिनमा किन आक्रोशित बने शिक्षकहरू ?

काठमाडौ - विद्यालय शिक्षा ऐनको माग गर्दै गत चैत २० गतेदेखि आन्दोलनमा रहेका शिक्षकहरु २६औं दिनमा आइपुग्दा एकाएक आक्रोशित बनेका छन् ।

पछिल्लो २५ दिनसम्म माइतीघरदेखि बबरमहलको सडकमा शान्तिपूर्ण प्रदर्शन गर्दै आएका उनीहरु आइतबार त्यही सडकमा अशान्त बनेका हुन् । 

माइतीघरदेखि नयाँ बानेश्वरको निषेधित क्षेत्र नजिकसम्म प्रदर्शन गर्दै कोणसभा गर्दै आएका शिक्षकहरुले आइतबार प्रहरी घेरा तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको छ । आन्दोलनकारी शिक्षकले निषेधित क्षेत्र तोडेर संसद भवन पुग्ने लक्ष्य राखेको थाहा पाएपछि प्रहरी पनि उच्च सतर्कतासहित बसेको थियो । 

निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो। जवाफमा शिक्षकहरूले ढुंगा प्रहार गरेका थिए । सोपछि नयाँबानेश्वर, बबरमहललगायत आसपासको क्षेत्र एकाएक अशान्त बन्न पुगेको थियो ।  

निषेधित क्षेत्रमा राखिएको ब्यारिकेट शिक्षकहरूले हटाउन खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । पछि शिक्षकहरूले ‘केपी ओली तिम्रो पाराले, दुःख पायो साराले,’ गृहमन्त्री राजीनामा दे, लगायत नारा लगाउँदै उग्र बनेका थिए । हजारौंको संख्यामा रहेका प्रहरीहरु एकाएक आक्रोशित बनेपछि प्रहरीले पानीको फाहोरासहित उनीहरुलाई तितरवितर गर्न बल प्रयोग गरेको थियो ।  

प्रहरीसँगको झडपमा १० भन्दा बढी शिक्षक घाइते भएका छन् । घाइतेहरुको मीनभवनमा रहेको निजामती कर्मचारी अस्पतालमा उपचार भइरहेको छ ।  

सर्वोच्च अदालतले आफ्नो काममा फर्कन र माग पूरा गर्न शिक्षक र सरकारलाई दिएको तीन दिनको समयसीमा आइतबार सकिँदैछ । सर्वोच्चको आदेशानुसार आज साँझदेखि शिक्षकहरुले आन्दोलन स्थगित गर्दै खाली हात गाउँ फर्कनु पर्नेछ । तर यो बीचमा सरकारले माग सम्बोधनका लागि ठोस पहल नगरेपछि शिक्षकहरु आइतबार एकाएक अशान्त बनेका हुन् ।  

शिक्षा मन्त्री रघुजी पन्तले समेत उनीहरुको माग सम्बोधनका लागि उपयुक्त पहल सुरु गर्न सकेका छैनन् । मन्त्री नियुक्तिको केही दिनमात्र भएकाले पनि उनलाई समस्या समाधानमा समय लागेको अनुमान छ । शिक्षकहरु भने ऐन पारितको उपयुक्त ग्यारेन्टी भए आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताउँदै आएका छन् ।  

यसैबीच, नेपाल शिक्षक महासंघले अपरान्ह ३ बजेका लागि आकस्मिक बैठक बोलाएको छ । मध्यबाँनेश्वरमा रहेको रत्नराज्य माविमा बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई बोलाइएको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । बैठकमा आजको घटना, आगामी योजना र आन्दोलनका समीक्षा हुने सुवेदीको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

रविमाथि अर्को कडा मुद्दा थपियो