नेभिगेशन
समाज विविध

परराष्ट्र मन्त्री राणाले भनिन्- सुदूरपश्चिमको मानव विकास सूचकांक सुधार गर्न जरुरी

काठमाडौँ- परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेश मानव विकास सूचकांकमा निकै तल रहेकाले उल्लेखनीय सुधार हुने गरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्ने बताएकी छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आइतबार काठमाडौँमा आयोजित आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरू विषयक अन्तर्क्रियामा उनले यस्तो बताएकी हुन् ।

मन्त्री राणाले भनिन् ‘प्रादेशिक तुलना गर्दा नेपालको मानव विकास सूचकांकमा सुदूरपश्चिम प्रदेश धेरै तल छ । मलाई लाग्छ हाल छैटौँ स्थानमा रहेको अवस्थामा उल्लेख्य सुधार गरेर माथि ल्याउन सकिने गरी हामीले आगामी योजना र कार्यक्रमहरू निर्माण गर्नुपर्छ र त्यसैबमोजिमको बजेटको व्यवस्था गर्नुपर्दछ ।’

उनले कनिका छरेजस्तो गरी अनेक शीर्षकमा बजेट छुट्याउने भन्दा कुन समुदायलाई प्रत्यक्ष या अप्रत्यक्ष लाभ पुग्छ र कुन क्षेत्रको विकास हुन्छ भनेर ठोस रूपमा योजना र कार्यक्रमहरू तय गर्ने र तोकिएको समयमा सम्पन्न गर्ने गरी कार्य योजना बनाउनुपर्ने सुझाव पनि दिएन ।

कृषि, पर्यटन र पूर्वाधार निर्माण नै सुदूरपश्चिम क्षेत्रका प्रमुख प्राथमिकता हुनुपर्नेमा धारणा राखेकी मन्त्री राणाले कृषिजन्य उत्पादनलाई व्यावसायिक तथा आधुनिक कृषिसँग जोड्नुका साथै बजारीकरणमा विशेष ध्यान दिनुपर्ने बताइन् ।

उनले सुदूरपश्चिममा पनि देशका अरु भूभागमा जस्तै मानिसहरूको बसाइसराइले जमिन बाँझो छोड्ने प्रवृत्ति बढेको भन्दै हाल खेतीयोग्य जमिन के कति छ भन्ने यकिन गरेर उक्त जमिनमा आधुनिक र व्यावसायिक खेतीका लागि योजना बनाउन सुझाव दिइन् ।

सुदूरपश्चिम क्षेत्र धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनका क्षेत्रमा निकै समृद्धि रहेकाले पर्यटन प्रवर्द्धन गर्न ‘हस्पिटालिटी’ लगायतका पर्यटकीय पूर्वाधार निर्माणका क्षेत्रमा प्रभावकारी योजना र बजेटका लागि आफूले पहल गर्ने उनको भनाइ थियो ।

‘यसका लागि हामी आफैँले पनि स्थानीय स्तरमा केही गर्नुपर्दछ । जस्तो कि म भर्खरै कोशी प्रदेश गएकी थिएँ, त्यहाँ यस वर्षलाई कोशी भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरिएको रहेछ । हामीले हाम्रा सांस्कृतिक धरोहर र पर्यटकीय सम्पदाहरूलाई चिनाउने गरी केही गरिरहनुपर्दछ,’ उनले भनिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

रविमाथि अर्को कडा मुद्दा थपियो