नेभिगेशन
समाज विविध

आन्दोलनले रुट बन्द भएको भन्दै यातायात व्यवसायी आक्रोशित, विहिबारसम्मको अल्टिमेटम

काठमाडौँ - सार्वजनिक यातायात केन्द्रीय महासंघले माइतीघर–बबरमहल–नयाँ बानेश्वर रुट खुला गर्न माग गरेको छ । महासंघले बिहीबारसम्म उक्त रुट खाली नगरे सवारीसाधन ग्यारेजमा थन्काउने चेतावनी दिएको छ । 

महासंघले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसँग सम्पर्क गरी तत्काल माइतीघर–बबरमहल–नयाँ बानेश्वर रुट खुला गर्न माग गरेको र विहिबारसम्म रुट नखुलेमा सवारी साधन ग्यारेजमा थन्क्याउने चेतावनी दिएको हो ।  

महासंघले सो रुटमा दैनिक चार हजार गाडी गुड्ने र यो रुट बन्द हुँदा एउटा सवारीसाधनलाई एक दिनमा कम्तीमा १५ सय रूपैयाँ घाटा लागेको बताएको छ । यस हिसाबबाट उक्त रुट बन्द हुँदा यातायात व्यवसायीहरूलाई कम्तीमा एक अर्ब ५६ करोड घाटा भएको महासंघको दाबि छ । 

उक्त रुटमा यातायात बन्द हुँदा करिब १२ हजार यातायात मजदुरहरूको रोजीरोटी नै ठप्प भएको छ । नेपाल शिक्षक महसंघको गत चैत्र २० गतेदेखिको काठमाडौँ केन्द्रित आन्दोलनका कारण उक्त क्षेत्रको यातायात रुट बन्द नै रहेको छ  । 

यसअघि शिक्षक आन्दोलन १७औं दिन पुगेका बेला उक्त महासंघले जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा उक्त रुटमा अविलम्ब यातायात सञ्चालन गर्ने वातावरण बनाउन माग गरिएको थियो । ज्ञापनपत्रमा शिक्षकहरूको आन्दोलनबाट माइतीघर–बबरमहल–बानेश्वर क्षेत्रमा निरन्तर सडक अवरोधबाट मजदुरलगायतलाई मर्का पर्नुका साथै व्यवसायीको बैंक किस्ता, कर, बिमा तिर्ने रकम गुम्दा आर्थिक हानिनोक्सानी भएको ज्ञापनपत्रमा उल्लेख छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध