नेभिगेशन
राजनीति

राष्ट्रसेवक शिक्षकको आन्दोलनमा यस्तो हुनु नपर्ने हो : सांसद थापा

काठमाडौं- सत्तारुढ नेकपा एमालेका सांसद सूर्य थापाले शिक्षामन्त्री रघुजी पन्तलाई शिक्षा विधेयकबारे संसद्बाट जानकारी गराउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद थापाले विधेयक पारित गर्न संसद् गम्भीर रहेको जानकारी गराउन आवश्यक रहेको बताए ।

‘शिक्षा विधेयक संसद्को यस अधिवेशनबाट टुंग्याउने प्रक्रियामा छौँ । सिंगो संसद् त्यसप्रति गम्भीर छ भन्ने अनुभूति सिंगो देशले गर्ने गरी यो शिक्षामन्त्रीले यो संसद्मार्फत राख्नुपर्छ । सिंगो देशलाई जानकारी गराउनु पर्छ’, उनले भने । सांसद सूर्य थापाले शिक्षकको हिजोको आन्दोलनमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्र सेवकमाथि यस्तो व्यवहार गरिनु उचित नभएको बताए ।

‘शिक्षक आन्दोलनमा हिजो भएको घटनाप्रति दुःख व्यक्त गर्न चाहन्छु, यस्तो हुनु नपर्ने हो,’ सोमबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘प्रहरी पनि राष्ट्र सेवक हुन्, शिक्षक पनि राष्ट्र सेवक हुन् । राष्ट्र सेवकमाथि आन्दोलनका नाममा गरिने व्यवहार होस् या जेसुकै होस्, यस्तो गर्नु दुःखद हो। यस्तो गर्नु उचित होइन।’थापाले शिक्षकलाई पनि संयमित हुन आग्रह गर्दै पूर्व घोषित शैली अनुसार नै आन्दोलन जारी राख्न आग्रह गरे।

उनले भने, ‘म शिक्षकहरुलाई संयमित भएर आफ्नो घोषित आन्दोलन अनुसारलाई नै सरकार, संसद्, समाज र देशको जुन ध्यानाकर्षण गराइराख्नु भएकोछ, त्यो प्रक्रियालाई नै अगाडि बढाउन आग्रह गर्न चाहन्छु ।’ सुरक्षाकर्मीलाई पनि संयमित हुन आग्रह गर्दै शिक्षामन्त्रीले विधेयकबारे संसद् र देशलाई जानकारी दिनुपर्ने मत राखे । ‘सुरक्षाकर्मीलाई पनि संयमित हुन आग्रह गर्न चाहान्छु,’ थापाले भने, ‘शिक्षामन्त्रीले पनि यो संसद् र देशलाई शिक्षा विधेयक यही अधिवेशनबाट टुंग्याउन तत्पर छौं भन्ने कुरा जानकारी गराउनु पर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति