नेभिगेशन
राजनीति

शिक्षक आन्दोलनमा मिसिने नेकपा एसको प्रयास असफल, लज्जित भएर फर्किए माधव-झलनाथ 

काठमाडौं - जारी शिक्षक आन्दोलनमा साथ दिन पुगेको नेकपा एकीकृत समाजवादीको शीर्ष टोली अपमानित भएर फर्किएको छ । शिक्षकहरूले उल्टै उनीहरूविरुद्ध नाराबाजी गरे ।

पार्टीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको टोली आन्दोलन स्थलमा पुगेको थियो । शिक्षकहरूको समर्थनमा भाषण गर्ने योजनासहित गरेका नेताहरु त्यतिबेला हिस्स परे, जब शिक्षकहरूले नै उनीहरुलाई त्यहाँबाट फर्किहाल्न भने ।

‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरू कराएपछि नेताहरू लज्जित भएर फर्किनु परेको थियो । फर्किने क्रममा उनीहरूलाई प्रहरीले गाडीसम्म स्कर्टिङ गर्‍यो ।

पञ्चायती ऐन खारेज गर, शिक्षा ऐन जारी गर । पुलिसको दादागिरी बन्द गर भन्दै औंलो ठड्याउँदै एकहोरो नारा लगाएर नेताहरूलाई आन्दोलनकारी शिक्षकहरूले बिजुलीबजारसम्म लखेटे ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ’आन्दोलन विभाजन गर्न अनेकथरी प्रचार भइरहेको छ । सचेत रहनुहोला । हामीले ढाँट्नुपर्ने केही छैन । २४ बुँदे कार्यसूची जारी गरेका छौं त्यो नै हाम्रो आधिकारिक डकुमेन्ट हो । यहाँ ९ बुँदे ७ बुँदेका कुरा पनि आइरहेका छन् । त्यस्तो केही होइन ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति