नेभिगेशन
राजनीति

भ्रष्टाचार गर्न पैसा हुने, शिक्षकहरूको माग पूरा गर्न नहुने भन्ने कुरै हुँदैन : झलनाथ खनाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शिक्षकहरूको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

२७ दिनदेखि काठमाडौँमा आन्दोलनरत शिक्षक आन्दोलनको समर्थन जनाउन पुगेका खनालले सरकारले शिक्षकहरूको माग सम्बोधन नगरे ठूलो जनआन्दोलन सिर्जना हुने चेतावनी दिए ।

उनले भने, ‘शिक्षकहरूको आन्दोलनको मागलाई नसुनी जसरी तानाशाही दमनचक्रमा उत्रिन खोजिरहेको छ सरकार, यसको हामी भर्त्सना गर्छौँ, विरोध गर्छौँ, शिक्षकहरू भनेको यो देशका बालबालिकालाई शिक्षित गर्ने गुरुहरू हुन्, गुरुआमाहरू हुन्। उहाँहरूको मागलाई पहिलो प्राथमिकताको साथ यो सरकारले पूरा गर्नुपर्छ । अन्यथा योभन्दा ठूलो जनआन्दोलनको प्रतीक्षामा बस्छ सरकार ।’

सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नभन्दा पनि जनविरोधी र शिक्षा विरोधी चरित्र देखाउँदै वर्तमान सरकार काण्डै काण्डको माला लगाउन जुरेको टिप्पणी गरे । उनले सरकारले बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनैपर्ने बताए ।

नेता खनालले भने, ‘बजेट नहुने भन्ने कुरै छैन । जनताले दिएको राजस्व छ । जनताले दिएको राजस्व ठिक ढंगले परिचालन भएको छैन । भ्रष्टाचारको काण्ड काण्डको माला लगाउन जुरेको छ सरकारलाई, तर किन यसलाई बजेट दिन सक्दैन ।’

उनले नेकपा एसले शिक्षकको माग पूरा नभएसम्म समर्थन गर्ने जनाए ।

पार्टीकी नेतृ रामकुमारी झाँक्रीले शिक्षक आन्दोलनको विरोध गरेकोबारे सोधिएको प्रश्नमा उनले भने, ‘जसले आलोचना गर्नुभएको छ, त्यो गलत कुरा हो । नेकपा एस शिक्षक आन्दोलनलाई सुरुदेखि अन्तिमसम्म समर्थन गर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति