नेभिगेशन
राजनीति

बर्दिया पुगेर प्रचण्डले भने- बिग्रिँदै गएको पार्टीलाई सच्याउन दिनरात खटिरहेको छु

काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधारभूत वर्ग भुलेर पार्टी बिग्रिँदै गएपछि सच्याउन आफू दिनरात खटिरहेको बताएका छन् ।

बर्दियाको राजापुरमा सोमबार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले सच्चिएर जनताको बीचमा पुग्न पार्टीका नेताहरूलाई आग्रह गरे ।

‘पार्टी बिग्रियो । नेताहरू बिग्रिए । हामीले आधारभूत वर्गलाई भुल्यौँ । मैले आफूले पनि गल्ती गरेँ भन्ने महसुस भएपछि म अहिले दिनरात खटिएको छु,’ उनले भने, ‘केही गल्ती गरेँ भन्ने लागेपछि आफूलाई सच्याउँदै बदल्ने संकल्प गर्दै पछिल्लो पटक सरकार चलाउँदा सुशासनको पक्षमा अभियान पनि छेडे । अहिले दिनरात दौडिरहेको छु । जनताको बीचमा गइरहेको छु । अब अरु नेताहरू पनि सच्चिनुस् । आफ्नो वर्गलाई समाउनुस् ।’

पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले शहीद–बेपत्ता परिवारका कुरा सुन्न पनि पार्टीका नेताहरूलाई आग्रह गरेका छन् ।

‘त्यसले आफू बिग्रिएको थाहा हुन्छ । तिनको आँशुले आफूलाई बदल्न मद्दत गर्छ । आफूलाई सच्याउन, आफ्नो वर्गतर्फ फर्किन सहयोग गर्छ ।

जनयुद्धको तयारीको समयदेखि नै बर्दियाका थारु समुदाय, मजदुर र किसानले हामीमाथि ठूलो भरोसा राख्नुभयो । जनयुद्धको अवधिभर बर्दिया आधार इलाका थियो । तर, क्रान्तिको बलियो किल्ला बनेको थारु समुदायमा पार्टी छिन्नभिन्न भयो । किनभने, माओवादी पार्टी बिग्रियो । यसका नेता बिग्रिए,’ उनले थपे, ‘अब थारु समुदाय, शहीद र बेपत्ता परिवार, मजदुर र किसानलाई केन्द्रमा राख्नुस् । गहिरो आत्म समीक्षा गर्नुस् र सच्चिनुस् योभन्दा विकल्प छैन ।’

उनले केही महिना अघिसम्म माओवादी पार्टी नुन खाएको कुखुराजस्तो बनिसकेको थियो भन्दै आफूले सुशासनको लागि संकल्प गरेर सरकारको नेतृत्व गरेपछि माओवादी नेता-कार्यकर्ता खुल्ला बहस गर्न सक्ने अवस्थामा पुगेको बताए ।

‘माओवादी नुनखाएको कुखुराजस्तो भइसकेका थियौँ । अहिले चोकचोकमा बसेर हामी भ्रष्टाचार विरोधी, सुशासनको पक्षधर भनेर खुल्ला बहस गर्न सक्ने अवस्था ल्याइएको छ । अब लगातार जनताको बीचमा गए दुई वर्षपछि २०८४ मा २०६४ को जस्तो अवस्था ल्याउन सकिन्छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी