नेभिगेशन
राजनीति

माधवको प्रष्टीकरण- शिक्षकहरूले हामीलाई खेदेको होइन, नाराबाजीसहित स्वागत गरेका हुन्

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शिक्षकहरूको आन्दोलनलाई ऐक्यबद्धता जनाउन आफूहरू जाँदा शिक्षकहरूले भव्य स्वागत गरेको बताएका छन् ।

आन्दोलनरत शिक्षकहरूलाई समर्थन गर्न जाँदा नाराबाजी भएको भनी गलत नियतले प्रचार गरेको भन्दै उनले आपत्ति जनाए ।

शिक्षक आन्दोलनबाट फर्किएपछि एक भिडिओ सन्देश जारी गर्दै उनले भने, ‘हामीले शिक्षकहरूको मागप्रति ऐक्यबद्धता जाहेर गर्‍यौँ । शिक्षकहरूमा उत्साह बढेको पायौँ । मनोबल बढेको पायौँ । त्यसपछि हामी बिदा भएका हौँ । तर, गलत नियत बोकेकाहरूले अनावश्यक प्रचार गरेका छन् ।’

उनले शिक्षकहरूले आफूहरूलाई खेदेको नभई स्वागत गरेको दाबी गरे ।

उनले थपे, ‘शिक्षकहरूले ताली बजाएर, नारा लगाएर र हामीले पनि मुठ्ठी उचालेर उहाँहरूको नारामा साथ दिएका थियौँ । बाहिर गरिएका स्टन्टबाजीको कुनै अर्थ छैन ।’

उनले शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग माग गरे । नेपालले आफ्नो पार्टीको शिक्षक आन्दोलनप्रति समर्थन रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी