नेभिगेशन
राजनीति

आलेले सदन बैठकमा दबाब झेल्न नसकेर त्यो ‘त्यो मु...’लाई डीजी बनाइयो भनिदिए, सांसद हेरेको हेरै

काठमाडौं– प्रतिनिधि सभाको सोमबारको बैठकमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारीका विषयमा बहस भयो। सो क्रममा पूर्व पर्यटनमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आले अलिक आवेशमा नै आए। 

उपसभामुख इन्दीरा रानाले बैठक चलाइरहेकी थिइन्। 

आलेले अधिकारीलाई पार्टीको दबाबमा नियुक्त गर्नुपरेको बताउँदा अश्लील शब्द प्रयोग गरिदिए।

प्रतिनिधिसभाको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद आलेले अश्लील शब्दको उच्चारण गरेका थिए। 

पार्टीको दबाबमा आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेको बेला जुनियर पदमा रहेका अधिकारीलाई डीजी बनाउनुपरेको उनको भनाइ थियो।

‘माननीय अमरेशकुमार सिंहले पनि भन्नुभयो, जुनियर मान्छेलाई ल्याएर डीजी बनाइयो, मेरै पालामा बनेको हो। तर निधारमा लेखेको हुँदैन कि यो चोर हो कि साधु हो भनेर थाहा त हुँदैन,’ त्यो बेलामा मैले धेरै पटक भनेको हो, जुनियर मान्छेलाई नबनाऊ, नबनाऊ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मु...(अश्लिल शव्द)लाई डीजी बनाइयो।’

यसो भन्दा सांसद हेरेको हेरै भए भने अध्यक्षता गरेकी उपसभामुख इन्दीरा रानाले पनि रोकिनन्।

कुनै सांसदले पनि आपत्ति जनाएनन्। यस्ता शब्द बोल्दा दलका प्रमुख सचेतक वा सचेतक, सांसदले आपत्ति जनाउने अभ्यास छ।

कसैले नरोकेपछि आले आफ्ना धारणा राखिसक्छन्। त्यसपछि कांग्रेस सांसद नागिना यादव र विराजभक्त श्रेष्ठलगायत बोले पनि आपत्ति जनाएनन्। 

नेपालको प्रतिनिधि सभामा कतिसम्म विवेक भएका सांसद रहेछन् भन्ने आलेको भाषण र अन्यको मौनताले स्पष्ट पारिदिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति