नेभिगेशन
राजनीति

जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखिएको भन्दै विपक्षीदलले जनाए आपत्ति

काठमाडौँ- शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखिएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता गराएको प्रस्ताव प्रतिनिधि सभाको मंगलबारको बैठकको कार्यसूचीमा नराखिएको भन्दै प्रतिपक्षी दलहरूले आपत्ति जनाएका हुन् ।

मंगलबारको सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले शिक्षकहरूका माग सम्बोधन गर्न चासो नदेखाएको आरोप लगाए ।

उनले शिक्षकहरूका माग पूरा गर्नुको सट्टा सरकार पानी र बुट बजार्ने काममा लागेको आरोप समेत लगाए । प्रतिपक्षी दलहरूले राखेको प्रस्तावमाथि छलफल गर्न सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने उनको माग छ ।

सोमबार दर्ता गराएको पाण्डे प्रस्तावक रहेको प्रस्तावको समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवर रहेका छन् । यो प्रस्तावमा आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको पनि समर्थन छ ।

लामो समयदेखि आफ्नो पेशागत हक अधिकारका लागि आन्दोलनरत चिकित्सकहरूको आवाजलाई समेत सरकारले बेवास्ता गर्दै आइरहेको विपक्षीहरूको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

बनेन शिक्षक फर्किने वातावरण