नेभिगेशन
समाज विविध

देउवा–ओली सहमतिमा ठेसः अर्थमन्त्री पौडेललाई कामु गभर्नरले टेरिनन्, भट्ट र श्रेष्ठको राजीनामा अस्वीकृत

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच केही दिनअघि भएको मध्यरातसम्मको वार्तापछिको सहमतिमा ठेस लागेको छ।

यो सहमति गभर्नर नियुक्तिका विषयलाई लिएर भएको थियो। यहिअनुसार प्रधानमन्त्री ओलीले बैठकमा उपस्थित रहेका अर्थमन्त्री विष्णु पौडेलमार्फत राष्ट्र बैंकका गभर्नरका प्रत्यासी डा. गुणाकर भट्ट र प्रकाशकुमार श्रेष्ठको राजीनामा स्वीकृतिका लागि कायममुकायम गभर्नर नीलग ढुंगानालाई स्वीकृतिका लागि निर्देशन दिए। 

तर ढुंगानाले उक्त निर्देशन बेवास्ता गर्दै राजीनामा स्वीकृत गरेकी छैनन्। दुईमध्ये भट्टलाई भावी गभर्नर बनाउन दुई प्रमुख सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भइसकेको छ। यहीबीचमा कार्यकारी निर्देशक रहेकै बेला भट्ट गभर्नर बन्न नसक्ने भन्दै सर्वोच्चमा परेको रिट विचाराधीन छ।

गत आइतबार अर्थमन्त्री पौडेलले कामु गभर्नर ढुंगानालाई उनीहरुको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका थिए। तर ढुंगानाले भने राजीनामा स्वीकृत नगरी गभर्नर नियुक्तिको हलो अड्काएकी छिन्। 

यता, सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिलाई पूर्णता दिने आशा गरिएको थियो। 

समितिले पूर्णता पाएन। गत चैत १६ गते अर्थमन्त्री पौडेल संयोजकत्वको समिति गठन भएको थियो। 

यही वैशाख १० गते दुई सदस्यमध्येका विजयनाथ भट्टराईले असन्तुष्टि जनाउँदै समिति छाडेका थिए। अर्का सदस्य विश्व पौडेल रहे पनि मन्त्रिपरिषद्ले पुनः १ सदस्य नियुक्त गरेर समितिलाई पूर्णता दिनुपर्ने अवस्था छ। 

सोही कारण सोमबार साँझ समितिले पूर्णता पाउने अपेक्षा थियो। 

गएको १ महिनादेखि गभर्नर नियुक्ति बिथोलिँदै आएको छ। निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल गत चैत २५ गते सकिइसकेको छ।

त्यसअघि नै सरकारले परम्परा मिचिसकेको थियो। जबकि एक महिनाअघि नै गभर्नर नियुक्त गरेपछि अधिकारीले राजीनामा दिने प्रचलन हुन्थ्यो। तर त्यसो भएन। त्यसो नहुनुमा एमालेको पनि गभर्नरमा स्वार्थ रहेको स्पष्ट भएको थियो। 

उता कांग्रेसले भने गभर्नर पाउने आशमा नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक (एआईजी)को भाग नलिएको चर्चा छ। एक साताअघि एआईजी सिफारिस भएका ६ जनाले मंगलबार फूली लगाएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध