नेभिगेशन
सुरक्षा–अपराध

३० हजार घुस लिएपछि प्रहरीका सईमाथि अख्तियारको मुद्दा 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका एक जना सईलाई ३० हजार रुपैंया घुस लिएवापत कानुनी कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरेको छ।

‘अनुसन्धानको सिलसिलामा प्रहरी चौकी दुगौलिया, रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) खिम बहादुर खड्काले भारतबाट सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ३० हजार रुपैंया घुस माग गरी लिएको पुष्टी भएको छ’, अख्तियारको विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा अगाडि भनिएको छ,‘निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ३० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज (मंगलबार) विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।’

रुपन्देहीको प्रहरी चौकी दुर्गौलियामा कार्यरत सई खड्काले भारतबाट रुपन्देही जिल्लाको दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरीदिने भनी सेवाग्राहीसँग घुस लिएको सूचनाको आधारमा अख्तियारले पक्राउ गरेको थियो।

अख्तियारको बुटवलबाट खटिई गएको टोलीले निज खिम बहादुर खड्कालाई सेवाग्राहीबाट ३० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध