नेभिगेशन
सुरक्षा–अपराध

सशस्त्र आईजी अर्याल संगठनलाई थप लयमा ल्याउन कस्सिए, अधिकारीलाई यतिसम्म भनिदिए

काठमाडौं– सशस्त्र प्रहरी बल (एपीएफ)का महानिरिक्षक (आईजी) राजु अर्याल संगठनलाई थप लयमा ल्याउन कस्सिएर लागेका छन्। उनले कमान्डमा जान खोजेका अधिकारीलाई कडा निर्देशन दिएका हुन्। 

संगठन प्रमुख भएका दिनदेखि नै सुधारको कामलाई निरन्तरता दिएका अर्यालले परिणाममुखी काम गर्न नसके जुनसुकै बेला कमान्डबाट फिर्ता गर्ने चेतावनी दिएका हुन्। कमान्डमा जान लागेका बाहिनीपति तथा तालिम शिक्षालयका समादेशकहरुलाई निर्देशन दिँदै उनले यस्तो बताएका थिए। 

पछिल्ला चरणमा सशस्त्र प्रहरीको सुधारमा अर्यालको कमान्ड प्रभावकारी रुपमा अगाडि बढिरहेको पूर्वआईजीहरू बताउँछन्। ‘संगठनमा यति प्रभावकारी र गतिशिल बनाउने काम भएको छ। बढुवादेखि सरुवासम्म नै अग्रिम जानकारी र कार्य सम्पादनमा आधारित बनाउनु सामान्य कुरा होइन’, सशस्त्रका एक पूर्वआईजी भन्छन्,‘हालका आईजीले यसलाई प्रभावकारी बनाउनुभएको छ।’

सशस्त्र प्रहरी मुख्यालयमा ‘सशस्त्र प्रहरीको वर्दी चम्काउने या यसलाई धुमिल पार्ने भन्ने जिम्मा तपाईंहरुको हातमा छ त्यसैले संवेदनशील भएर आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्’ भनी अर्यालले निर्देशन दिएका थिए।

मातहत कर्मचारीले गल्ती गरे सम्बन्धित बाहिनीका बाहिनीपतिहरुलाई कारबाही गर्ने चेतावनी दिँदै महानिरीक्षक अर्यालले बाहिनीदेखि गण, गुल्मसम्मका स्थायी कार्यालयहरुको प्रत्येक ३–३ महिनामा कमान्डको पुनरावलोकन तथा पुनर्मुल्याङ्कन गरिने र त्यसमा कमजोर देखिए कमान्ड हेरफेर तथा फिर्तासम्म गरिने बताए। 

सो अवसरमा विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू,  हालै सरुवा भएर  कमान्डमा जान लागेका प्रदेशस्थित  बाहिनी मुख्यालयका बाहिनीपतिहरु तथा शिक्षालयका समादेशकहरुको उपस्थिति रहेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध