नेभिगेशन
राजनीति

कसले खेल्यो सिके राउत र रेशम-रञ्जिताको पार्टी एकतामा ?

यदि सर्वोच्चबाट भनिएको पत्र नआएको भए अहिलेसम्म नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकता भइसक्ने थियो । र बन्ने थियो, नागरिक जनमत पार्टी । नाजपा । यसको संरक्षक बन्ने थिए, रेशम चौधरी । अध्यक्ष बन्थे, सिके राउत । सहअध्यक्ष बन्ने थिइन्, रञ्जिता श्रेष्ठ । 

तर दिउँसो एकाएक पत्र आयो, सर्वोच्चको भनिएको पत्र लिएर प्रहरीले एकता घोषणास्थलमा पुगेका रेशम चौधरीलाई पक्राउ गर्यो । त्यसपछि कथानकले नयाँ मोड लियो । अहिलेसम्मको अवस्था हेर्दा एकता घोषणा कार्यक्रम स्थगीत भइसकेको छ । 

हुन त सर्वोच्चबाट पत्र लेख्ने अधिकृतले मन पोलेकाले लेखेको भनेका छन् र उनी पक्राउ परिसकेका छन् । तर नेपाली राजनीति बाहिर जे देखिन्छ, त्यो नहुने सम्भावना सबै भन्दा बढि हुन्छ । यसैले एकजना अधिकृतले पत्र लेख्दैमा नियम कानून नै नबुझी प्रहरी त्यसरी सक्रिय हुनु पनि रहस्य नै छ भन्ने मत पनि बलियो छ ।

रेशम चौधरीको आजको पक्राउ केवल एक अधिकृतको सिल्लीकाम मात्र नभएर सुनियोजित योजना हो भन्ने तर्क पनि बलियो छ । त्यसो भए कसले खेल्यो सिके राउत र रेशम-सञ्जिताको पार्टी एकतामा भन्ने प्रश्न उठ्नु स्वभाविक छ । 

१. सत्ता डरायो एकतासँग 

'जे पनि गर्न सक्ने' कुरामा प्रधानमन्त्री केपी ओलीको कुख्याती छ । रेशम र सिके राउतको पार्टीको एकता भएमा त्यसरी बन्ने पार्टी नाउपा संघीय संसदमा मात्र होइन, मधेश र सुदुरपश्चिम प्रदेश सभामा पनि टार्नै नसक्ने शक्ति बन्ने पक्का हुन्थ्यो । यसले अहिलेको शक्ति सन्तुलनमा केहि फेरबदल गर्न सक्थ्यो । 

नाउपाले शक्ति बढाउन नपाओस् भनेर अन्तिम समयमा पनि सत्ताले रोक्न खोजेको हो भन्न सकिने तर्क यहि हो । यो तर्कलाई बलियो बनाउने प्रहरीको सक्रियताले हो । 

प्रहरीले यति पनि बुझ्न नसक्ने कुरा थिएन कि रेशम चौधरीले राष्ट्रपतिबाट आममाफी पाएका हुन् र राष्ट्रपतिको आममाफीलाई चुनौति दिएर सर्वोच्चमा मुद्दा विचाराधिन छ । त्यसको न आज पेशी नै थियो । त्यस्तो अवस्थामा बेमौकाको पत्र पाएर त्यति विघ्न सक्रिय भइहाल्नु पर्ने पनि थिएन ।

तर एकता घोषणाको दिन हो भन्नेसमेत वास्ता नगरि दर्जनौँ समर्थकहरू बिच सादा पोशाकमा पुगेर पक्राउ गरिनु जत्तिको आकस्मिक अवस्था पनि होइन । त्यहाँ मुठभेटको अवस्था पनि बन्न सक्थ्यो । केहि विचार नगरि वा माथिको आदेश नआइ प्रहरीले आँखामा एउटा पत्रको पट्टी बाँधेर, जोखिम लिएर यतिको सक्रियता देखाएको होला भन्न सकिदैन ।

२. रञ्जिता श्रेष्ठको भित्री मनसाय फेरिएकै थियो र ?

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकताको चर्चा चल्दा सुरूमा रञ्जिता त्यसको समर्थनमा थिइनन् । आफु अध्यक्ष रहदा रहदै आफुलाई बाइपास गरेर रेशम र सिकेले एकताको कुरा गरेबाट नै उनी चिढिएकी थिइन् । 

एकता पछि उनी पार्टीमा सहअध्यक्षमा सिमित गरिएकी छिन् । पार्टीको संसदीय फाँटमा पनि उनी सिके राउतको छायाँमा पर्ने जोखिम छ । यसले उनको राजनीतिक भविष्यलाई नै कमजोर बनाइदिन सक्ने भएर उनी एकताप्रति संशकित र असुरक्षित छन् । 

यसैले अन्तिम समयमा एकताको पक्षमा देखिए पनि, सहअध्यक्षको पदमा चित्त बुझाएको देखिए पनि श्रेष्ठको भित्री मनसाय फेरिएकै थियो र ? यदि त्यसो नभएको खण्डमा यो चलखेलमा रञ्जिताको भुमिका हुन सक्ने तर्क पनि बलियो छ ।

३. स्वयम् रेशम चौधरी के चाहन्थे ?

तत्कालै केन्द्रीय समिति, कार्यकारिणी समिति लगायतका संरचनाहरू पुरा गर्ने भनिए पनि अन्तिमसम्म ति संरचनाहरूका सदस्यहरूको नामावली तयार भएको थिएन । बिहानै यसबारेमा आफ्नो असन्तुष्टि रेशम चौधरी पक्षका मानिसहरूले राखिरहेका थिए ।

रेशम चौधरीपक्षका मानिसहरुको तर्क अनुसार यदि यी संरचनाहरू पुरा नगरि एकता भए पछि रेशम चौधरीलाई बाइपास गर्ने सम्भावना रहन्छ । यसले रेशम चौधरी पक्षलाई असुरक्षित र त्रसित बनाएको थियो । 

बेला बेला विचार फेरिरहने रेशम चौधरीको अन्तिममा एकताकाबारेमा विचार फेरिएको पनि हुन सक्छ र जस्ता सुकै जोखिम लिन पनि सक्ने चौधरी आफैले पक्राउको कथा रचेका पनि हुन सक्ने तर्क हुन सक्छ ।

पृष्ठभुमिमा जे भए पनि नतिजामा आज हुने एकता भाँडिएको छ । अब अर्को मिति कहिले तोकिन्छ भन्ने अहिलेसम्म केहि जानकारी आएको छैन । यदि कसैले एकता भाँड्न चाहेको हो भने अहिलेको घटनाक्रमले उसले चाहे जस्तै नतिजा निकालेको छ । 

बिरोधीहरूलाई असफल बनाएर एकता गर्ने हो भने सक्दो चाँडो वा आज नै एकता घोषणा गरे राम्रो हुन्छ । मन मिलिसकेको हो भने त मिल्नलाई कति नै व्यवस्थापन गर्नु पर्छ र ? मन नमिलेको भए बहाना भेटिएकै छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी