इंग्लिस प्रिमियर लिग : लिभरपुल चेल्सीसँग बराबरीमा रोकियो
काठमाडौं - इङ्लिस प्रिमियर लिगमा दुई गाेलकाे अग्रता कायम गरेकाे लिभरपुल अन्तत: चेल्सीसँग बराबरीमा राेकिएकाे छ । आइतबार राति भएकाे खेलमा साडियो माने र मोहम्मद सलाहाको गोलमा २-० को अग्रता लिँदै लिभरपुल सहज जिततर्फ अगाडि बढेको थियो । तर, पहिलो हाफको अन्तिम समयमा २ गोल गर्दै चेल्सी लयमा फर्किएपछि अन्तत: खेल २-२ गाेलकाे बराबरीमा रोकिएको हाे ।
नवौँ मिनेटमा साडियो मानेको गोलमा लिभरपुलले अग्रता लियो । २६औँ मिनेटमा सलाहाले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । ४२औँ मिनेटमा कोभासिचले २० र्याड टाढाबाट गरेको प्रहारले सोझै जाली चुमेको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा क्रिस्टियन पुलिसिचको गोलमा चेल्सी खेलमा फर्किएको थियो ।
दोस्रो स्थानको चेल्सी र तेस्रो स्थानको लिभरपुलले अंक बाँडेपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको अग्रता १० अंकमा पुगेको छ । सिटी ५३ अंकसहित शीर्ष स्थानमा छ ।
सिटीले शनिबार आर्सनललाई हराउँदै शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको थियो । चेल्सी ४३ अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको लिभरपुलको ४२ अंक छ । लिभरपुलले सिटी र चेल्सीको भन्दा एक खेल कम खेलेको छ । प्रिमियर लिगअन्तर्गत आइतबार भएको अर्को खेलमा लिड्स युनाइटेडले बनर्लीलाई ३–१ अन्तरले हरायो ।