Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्रिकेटर ज्ञानेन्द्र मल्ल भन्छन् - सधैँ कप्तान हुन आएको पनि हाेइन, हुनुपर्छ भन्ने पनि छैन

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - नेपाल राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले आफू सधैँ कप्तान हुन आएको पनि हैन र हुनुपर्छ भन्ने पनि मान्यता पनि नभएको बताएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट खेल मैदानमा मंगलबार सञ्चारकर्मीहरूसँग उनले क्यान र खेलाडीबीचकाे विवाद समाधानपछि यस्ताे प्रतिक्रिया दिएका हुन् । 

‘म सधैँलाई कप्तान हुन आएको पनि हाेइन र हुनुपर्छ भन्ने पनि छैन । म पहिला पनि खेलिरहेको थिए अहिले पनि खेल्छु,’ उनले भने । यसअघि २९ मंसिरमा नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको भन्दै ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्तसहित ६ महिना केन्द्रीय सम्झौताबाट बाहिर राख्ने निर्णय गरेको थियो । उनीहरूसँगै क्रिकेटर कमल सिंह ऐरी र सोमपाल कामीलाई पिन सन् २०२२ को सुरुआती ६ महिना केन्द्रीय सम्झाेताबाट बाहिर राख्ने निर्णय गरेकाे  थियाे ।

यस्तै, क्यानले कप्तानका रुपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो । यससँगै क्यान र खेलाडीबीच विवाद चर्किएकाे थियाे । खेलाडीले राष्ट्रिय टोलीबाट नखेल्ने बताउँदै आएका थिए भने क्यान कारबाही फिर्ता नलिने मुडमा थियो । तर, गठबन्धन सरकारदेखि शीर्षस्तरमै विवाद पुग्न थालेपछि खेलाडी र क्यान एक कदम पछाडि फर्केर छलफल सुरू भएकाे थियाे । साेमबारकाे छलफलमा क्यान र खेलाडीबीच सहमति भएपछि विवाद अन्त्य भएकाे छ ।   

ज्ञानेन्द्रलगायत खेलाडीले आफ्नो कारबाहीसहित कप्तानी समेत फिर्ता हुनुपर्ने माग राखेका थिए । क्यानले केन्द्रीय सम्झौता हेरफेर गर्ने र कारबाहीसमेत फुकुवा हुने तर कप्तानी फिर्ता नहुने बताएके छ ।  

यससँगै विवादमा उत्रिएका खेलाडी मंगलबारबाट प्रशिक्षणमा आएका हुन् । कप्तान सन्दीप लामिछाने बिग बास लिग खेल्न अष्ट्रेलियामा रहेका छन् भने सागर ढकाल बिरामी हुँदा प्रशिक्षणमा सामेल भएनन् । बिहानी अभ्यास सत्रमा प्रारम्भिक छनोटका ३० मध्ये २८ खेलाडी सामेल भए । 

प्रशिक्षणमा आएका ज्ञानेन्द्रले यो विवाद नभएको, खेलाडीले आफ्नो असन्तुष्टि जनाएको र यो विषय बाहिर आउनु नहुने पनि बताए । ‘विवाद समाप्त भएर हामी यही छौँ । विवाद समाधानभन्दा पनि एउटा असन्तुष्टि हो । विवाद बनाएको जस्तो भयो । मलाई जहाँसम्म लाग्छ विवाद नभएर खेलाडीहरूको असन्तुष्टि हाे ।’ मल्लले भने । ज्ञानेन्द्रले आफूहरूले बोर्डको विपक्ष र बोर्डलाई निचो गराउने काम कहिले पनि नगरेको बताए । ‘कहिले पनि बोर्डको विपक्षमा जाने, बोर्डलाई निचो गराउन खाेजेकाे हाेइन । त्यो गर्ने भए हामी अरु पनि बाटो अपनाउथ्याैँ हाेला । जान्थ्यौै होला । खेल्दैन थियौै होला । तर, यत्रो बर्ष केही नहुँदा पनि खेलिरहेको छौँ भने अहिले एउटा सम्मानजनक स्थिति छ । सधैँ सम्बोधन हुनुपर्याे । भन्दा अरु अरु आरोप लगाउँदा दु:ख लाग्यो । यो आत्मासम्मानकाे कुराले मलाई अफ्ठयारो परेको थियो ।’

यस्तै, मल्लले आफू पहिले पनि खेलिरहेको र अहिले पनि खेल्ने बताए । साथै, देशको लागि खेल्ने उदेश्य रहेको बताए । दोस्रो पटक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको नेपाली टोलीले ओमानमा आयोजना हुने आईसीसी टी-२० ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्दैछ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:२३
प्रतिक्रिया दिनुहोस्