शाहरुख खान अपहरणकारी बन्दै
काठमाडौं - अभिनेता शाहरुख खान आफ्नो फिल्म ‘पठान’ र इधर एटलीको ‘लायन’को सुटिङमा व्यस्त छन् । फिल्म ‘लायन’मा उनी भिलेनको चरित्रमा देखिँदैछन् । बलिउडका फिल्ममा शाहरुख भिलेन चरित्रमा देखिएको यो नवौं फिल्म हुनेछ । यो फिल्म लोकप्रिय वेब सिरिज ‘मनी हाइस्ट’का प्रोफेसर जस्तो एक ठूलो डकैतको कथामा आधारित छ ।
‘लायन’ मा शाहरुख दोहोरो चरित्र अर्थात बाबु–छोराको भूमिकामा देखिनेछन् । फिल्ममा छोरा शाहरुखले एक मेट्रो टेनको अपहरण गर्नेछन् । फिल्मको यो प्रमुख सिक्वेन्सलाई गत वर्षको अक्टोबरमा पुणेमा छायांकन गरिएको थियो । यसको अर्को सिक्वेन्स चेन्नईमा यो वर्ष खिचिनेछ । यद्यपि छोरा आर्यनको मुद्दा र भारतमा बढ्दो ओमिक्रोन लहरले सुटिङ पुनः सुरु हुन सकेको छैन ।
दक्षिण भारतीय फिल्म व्यापार विश्लेषक रमेश वालाका अनुसार चार वर्षअघि इधर र शाहरुखको भेट फिल्म ‘मरसल’ रिलिजपछि भएको थियो । शाहरुखलाई यो फिल्ममा थलापति विजयको काम र एटलीको निर्देशन कला मनपरेको थियो । त्यहीकारण शाहरुखले एटलीसँग सहकार्य गर्ने इच्छा देखाएका थिए ।
‘लायन’को सहनिर्मातामा करण जोहर छन् । करण दक्षिण भारतीय फिल्मका निर्माता र नयाँ स्टारप्रति सधैं चासो राख्छन् । रमेशले एटलीलाई कुनै पनि कलाकारलाई दोहोरो अथवा तेहोरो चरित्रमा देखाउन सक्ने क्षमता रहेको दाबी गरे । चेन्नईमा सुटिङ गरिने भनिएको फिल्म कोभिड महामारीको अवस्थालाई मध्यनजर गर्दै हैदराबादको रामोजी स्टुडियोमा गर्ने तयारी भइरहेको छ । किनकि तेलंगानामा कोभिड प्रतिबन्धको प्रावधान केही नरम छ ।