नियमित क्षेप्यास्त्र प्रक्षेपण गरिरहने उत्तर कोरिया कति शक्तिसाली ? यस्तो छ सैन्य क्षमता
अस्त्र विकास कार्यक्रमलाई अझ अघि बढाउँदै उत्तर कोरियाले विगत केही वर्षदेखि नियमित रूपमा क्षेप्यास्त्र परीक्षण गरिरहेको छ। उसले सम्भावित अमेरिकी आक्रमणविरुद्ध प्रतिरक्षाका लागि अस्त्र अपरिहार्य रहेको बताउने गरेको छ।
सन् २०२१ को सेप्टेम्बर महिनामा मात्रै उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्र, रेलमा आधारित बलिस्टिक क्षेप्यास्त्र र लामो दूरीमा मार हान्न सक्ने क्रूज क्षेप्यास्त्र परीक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
गत वर्षको ज्यानुअरीमा उत्तर कोरियाले पनडुब्बीबाट मार हान्ने बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको थियो। अमेरिकामा राष्ट्रपति जो बाइडनले कार्यभार सम्हाल्नु ठिकअघि परीक्षण गरिएको यो क्षेप्यास्त्रलाई उसले "विश्वको सबैभन्दा शक्तिशाली अस्त्र" रहेको दाबी गर्यो।
उक्त अस्त्रको वास्तविक क्षमता अझै अज्ञात छ र परीक्षण भए नभएको बारेमा पनि थाहा हुन सकेको छैन।
उत्तर कोरियाली नेता किम जङ-अनले आफूले चाहेका अस्त्रशस्त्रको सूची तयार गरेरै आफ्नो देशको परमाणुअस्त्र र सैन्य क्षमता बढाउने बताएका छन्। आर्थिक प्रतिबन्धका बीच उत्तर कोरियाले आफ्नो अस्त्र क्षमता सुदृढ गरिरहेको छ।
अमेरिकासम्म पुग्ने क्षेप्यास्त्र
सन् २०१७ मा उत्तर कोरियाले परीक्षण गरेका कैयौँ क्षेप्यास्त्रहरूले उसको सैन्य प्रविधिमा भएको सुदृढीकरण देखाएका थिए। हसङ-१२ क्षेप्यास्त्र ४,५०० किलोमिटर पर पुग्ने सोचिएको थियो जसले ग्वाम टापुमा रहेको अमेरिकी सैन्य आधार क्षेत्रसम्म मार हान्न सक्थ्यो।
पछि हसङ-१४ अझ शक्तिशाली भएको देखियो। त्यसले ८,००० किलोमिटर मार हान्ने र अधिकतम १०,००० किलोमिटरसम्म पुग्ने बताइएको थियो।न्यूयोर्कसम्म पुग्न सक्ने त्यो अस्त्र प्योङ्याङका लागि पहिलो अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र बन्यो।
त्यसपछि हसङ-१५ परीक्षण गर्दा ४,५०० किलोमिटर माथि पुग्ने बताइयो। यो दूरी भनेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनभन्दा १० गुनामाथि हो।
जमिनमा प्रहार गर्दा १३,००० किलोमिटर परसम्म पुग्न सक्ने यो क्षेप्यास्त्रले अमेरिकाको कुनै पनि स्थानसम्म मार हान्न सक्ने क्षमता राख्छ।सन् २०२० को अक्टोबरमा उत्तर कोरियाले बेनामी बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गर्यो। परीक्षण नगरिएको सो क्षेप्यास्त्रले एउटाभन्दा बढी पारमाणविक 'युद्धशीर्ष' बोक्न सक्ने बताइएको छ।
अमेरिकाको कुनै पनि क्षेत्रसम्म पारमाणविक भार बोक्न सक्ने ठानिएको यसको ठूलो आकारले विज्ञहरूलाई समेत चकित पारेको थियो।
गत वर्षको ज्यानुअरिमा उत्तर कोरियाले पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने अर्को बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गर्यो। उसले त्यो "विश्वकै सबैभन्दा शक्तिशाली अस्त्र" भएको दाबी गरेको छ।
नयाँनयाँ क्षेप्यास्त्र सार्वजनिक गरेर उत्तर कोरियाले अमेरिकाले बाइडन सरकारलाई आफ्नो देशको बढ्दो सैन्य क्षमताबारे सन्देश दिन खोजेको विज्ञहरू बताउँछन्।
रक्षाप्रणालीलाई चुनौती थप्न सक्ने
गत वर्षको मार्चमा उत्तर कोरियाले 'रणनीतिनिर्देशित नयाँ प्रकारको क्षेप्यास्त्र" प्रक्षेपण गर्यो। पच्चीस सय किलो भारवहन क्षमता भएको उक्त क्षेप्यास्त्रले पारमाणविक युद्धशीर्ष पनि बोक्न सक्ने ठानिएको छ।
यो अस्त्रको औपचारिक रूपमा पहिचान भइसकेको छैन। तर जेम्स मार्टिन सेन्टर फर ननप्रलिफरेशन स्टडीजका विश्लेषकहरूले यो यसअघि नै परीक्षण भएको केएन-२३ को परिष्कृत रूप भएको रोएटर्सलाई बताएका छन्।
कतिपय विज्ञहरूले यो क्षेप्यास्त्र सजिलै प्रक्षेपण गर्न सकिने र पत्ता लगाउन पनि कठिन पर्ने बताएका छन्।
गत सेप्टेम्बरमा परीक्षण लामो दूरीको मार हान्न सक्ने क्रूज क्षेप्यास्त्रले रक्षाप्रणालीलाई चुनौती थप्न सक्ने बताइएको छ। सीधा बाटो तय नगर्ने भएका कारण यसलाई पनि पत्ता लगाउन क्षेप्यास्त्रप्रतिरोधी अस्त्रहरूलाई कठिन पर्ने बताइएको छ।
सरकारी सञ्चारमाध्यमका अनुसार यसले १,५०० किलोमिटर यात्रा तय गर्न सक्छ। अर्थात् यसको मार हान्न सक्ने दूरीमा जापानको अधिकांश भूभाग पनि पर्छ।यद्यपि यो कसरी निर्देशित हुन्छ र आणविक अस्त्रको भार बोक्न सक्छ वा सक्दैन भन्नेबारे अझैसम्म थाहा हुन सकेको छैन।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाए पनि क्रूज क्षेप्यास्त्र परीक्षण गर्न रोक लगाएको छैन।गत सेप्टेम्बरमा परीक्षण गरिएको हाइपरसोनिक क्षेप्यास्त्रले अरूभन्दा तीव्र गति तय गर्न सक्छ।
यसको ढुवानी र इन्धन भर्न जडान गरिएको प्रविधिका कारण छिटो प्रक्षेपण गर्न मिल्ने र विरोधीहरूलाई क्षेप्यास्त्रप्रतिरोधी आक्रमण गर्न कठिन बनाउने ठानिएको छ।
थर्मोन्यूक्लीअर बम
सन् २०१७ सेप्टेम्बर ३ मा उत्तर कोरियाले हालसम्मकै आफ्नो सबैभन्दा ठूलो पारमाणविक परीक्षण गर्यो। सो उपकरणको विस्फोटन शक्ति १०० देखि ३७० किलोटनको रहेको छ। एक सय किलोटनको बम हिरोशिमामा सन् १९४५ खसालिएको बमभन्दा छगुना शक्तिशाली हुन्छ।
उत्तर कोरियाले त्यसलाई आफ्नो पहिलो थर्मोन्यूक्लीअर अस्त्र परीक्षण भएको दाबी गरेको छ। थर्मोन्यूक्लीअर अस्त्र प्रयोग गर्दा पहिला एटमिक विस्फोटन र लगत्तै फ्यूजन प्रक्रियाबाट हुने अझ ठूलो विस्फोटन हुन्छ।
सन् २०१८ को एप्रिलमा उत्तर कोरियाले आफ्नो क्षमता पुष्टि भएकोले पारमाणविक परीक्षण रोक्ने बताएको थियो। उसले आफ्नो परमाणुअस्त्र परीक्षण स्थल नष्ट गर्ने बताउँदै केही विदेशी पत्रकारको उपस्थितिमा केही पूर्वाधारहरू ध्वस्त बनाएको थियो।
तर त्यो बेला अन्तर्राष्ट्रिय विज्ञहरू भने त्यहाँ उपस्थित थिएनन्।सो वर्ष अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सञ्चारसम्पर्कपछि उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम चलाउने सबै पूर्वाधार बन्द गर्ने बताएको थियो। तर ट्रम्प र किम जङ-अनको वार्ता उपलब्धिमूलक भएन।
अगस्टमा संयुक्त राष्ट्रसङ्घीय इन्टर्न्याश्नल अटोमिक एनर्जी एजेन्सीले उत्तर कोरियाले परमाणु कार्यक्रमस्थल पुनः चलाउन थालेको बताएको थियो।सेप्टेम्बरमा उनले त्यहाँको पारमाणविक कार्यक्रम पूर्ण मात्रामा सञ्चालनमा रहेको बताएको थियो।
लाखौँ सैनिक
उत्तर कोरियाको सैनिक सङ्ख्या ठूलो छ। त्यहाँ १० लाखभन्दा बढी सैनिक र थप छ लाख जगेडा सैनिक रहेका मानिन्छ।
उसका धेरै अस्त्र पुराना र काम नलाग्ने भए पनि युद्धको अवस्थामा कुल छ लाख सैनिक रहेको दक्षिण कोरियालाई सङ्ख्याकै कारण ठूलो क्षति पुर्याउन सक्ने मानिन्छ।
अर्को खतरा सीमामा राखिएका ३१ हजारभन्दा बढी रकेट लन्चरजस्ता हतियार हुन्। तिनले ६० किलोमिटरको दूरीमा रहेको सोललाई खतरामा पार्न सक्छन्।
सन् २०१२ मा दक्षिण कोरियाले उत्तर कोरियासँग २,५०० देखि ५,००० टन रासायनिक हतियार रहेको अनुमान गरेको थियो जुन सम्भवतः संसारकै सबैभन्दा ठूलो भण्डारण हो।
उत्तर कोरियामा जैविक अस्त्र कार्यक्रम पनि चलिरहेको हुन सक्ने बताइन्छ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।