एलन मस्कसहितका अर्बपतिहरुको ट्विटरमा बहसः जनसंख्या पतनको विकल्प कृत्रिम कोख
एजेन्सी - अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लाका मालिक एलन मस्क, इथेरियमका सहसंस्थापक भितालिक बुटेरिन तथा इ कमर्स फाेरम गुमारोडका संस्थापक सहिल लाभिंगियाबीच ट्विटरमा कृत्रिम काेख चर्को बहस बढेको छ ।
जनसंख्या पतनको बढ्दो सम्भावना र त्यसलाई समाधान गर्न कृत्रिम कोख –सिन्थेटिक वम्ब) बारे ट्विटरमा बहस बढेको हो ।
एउटा पछिल्लो ट्विटमा मस्कले भनेका छन्, ‘जनसंख्याको सम्भावित पतनबारे हामीले सोच्नै पर्छ ।’ मस्कको ट्विटलाई जबाफ दिँदै लाभिंगियाले लेखेका छन्, ‘हामी सजिलै, चाँडो, सस्तो र सबैलाई पहुँच हुने सिन्थेटिक कोख प्रविधिको विकास गर्नुपर्छ ।’ उनीहरुको च्याट जनसंख्या पतन र कृत्रिम कोखको विकासमा केन्द्रित थियो ।
आगामी केही दशकपछि मानिसहरु मंगल ग्रहमा बस्ने ठोकुवा गर्दै आएका मस्कका लागि जनसंख्या पतन निश्चय नै चिन्ताको विषय हो । किनकी पृथ्वीमा नै मानिसको पतन भए मंगल ग्रहमा बसाइँ सार्ने उनको योजना पुरा हुने छैन् ।
ट्विटरमा दुई जनाबीच बहस बढिरहेका बेला अर्का अर्बपति बुटेरिनले लेखेका छन्, ‘सिन्थेटिक कोखले गर्भधारण र महिला तथा पुरुषबीच हुने असमानताको विभेद हटाउछ ।’
के हो कृत्रिम कोख ?
कृत्रिम कोख एउटा यस्तो उपकरण हो, जसले वाह्य गर्भावस्थालाई अनुमति दिन्छ । यस प्रकृयामा भ्रुणको विकास जीवको शरीर बाहिर हुन्छ । नेदरल्याड्सका वैज्ञानिकहरुले कृत्रिम कोख विकास गरिरहेको र त्यसले समय नपुगी जन्मिने शिशुलाई जोगाउने सन् २०१९ को एउटा रिपोर्टमा बीबीसीले जनाएको थियो ।
विज्ञहरुका अनुसार नवजात शिशुहरुको ठूलो संख्यामा मृत्यु हुनुको मुख्य कारण समय नपुगी जन्मिनु हो । तर, कृत्रिम भ्रुणको अवधारणाले विभिन्न कानुनी प्रश्न पनि खडा गरेको छ ।