गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल
काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार गृह मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्तामा निर्वाचन लक्षित बजेटबारे छलफल भएको बतायएको छ ।
छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको बताइएको छ ।
अब गृह मन्त्रालयले बिहीबारसम्म चालुतर्फको समेत बजेट यकिन गरेर अर्थ मन्त्रालयमा पठाउनेछ । छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौलालगायतको सहभागिता रहेको थियो ।
भेटमा अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई परेको चापबारे अवगत गराउँदै अत्यावश्यक र गर्नैपर्ने विषयबारे जानकारी गराउन आग्रह गरेका थिए। गृहमन्त्री खाँणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको र नभई नहुने विषयवस्तुबारे अवगत गराइने जानकारी दिए ।