पल प्रकरण : प्रहरीले नियन्त्रणमा लिएर छोडेपछि निर्देशक थापाले यसो भने
काठमाडौं - पल शाह प्रकरणमा पक्राउ परेका फिल्म ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले छोडेको छ । शनिवार दिउँसो निर्देशक थापालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।
दिउँसो प्राईम टाइम टेलिभिजनको कार्यक्रममा अन्तवार्ता दिएर फर्कने क्रममा निर्देशक थापालाई प्रहरीले पलको बारेमा सोधपुछ गर्न भन्दै नियन्त्रणमा लिएको थियो ।
जबर्जस्ती करणीको अरोपमा १७ वर्षिय गायिकाले तनहुँ (दमौली) को जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि पल फरार रहेका छन् । पलको बारेमा निर्देशक थापाले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।
प्रहरीसँगको सोधपुछपछि थापाले भने - 'अहिले प्रहरीले पल शाहको खोजी गरिरहेको छ । त्यही शिलशिलामा पलले अभिनय गरेको फिल्मको निर्देशक र निर्माता भएको हिसाबले मसँग कुनै सम्पर्क छ कि छैन भनेर सोधपुछ गरिएको थियो । पल शाहसँग मेरो सम्पर्क भयो भने जानकारी गराउनेछु भनेर प्रहरीलाई भनेको छु । मैले सकेको सहयोग प्रहरीलाई गर्ने नै छु ।'
गायिका ले उजुरीमा एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको बताएकी छिन् ।