निशा जी अब हामी के बुझौं – तपाई भित्र एक मुठ्ठी सास छैन, अनि तपाई भित्रको एक झिल्का आगो पनि निभ्यो !
जतिबेला कोरोना महामारीका बेला लकडाउन जारी थियो त्यसै समय नायिका निशा अधिकारीको सक्रियतामा जन्मियो जिरो टोलरेन्स अर्थात शुन्य सहनशीलता । उनको अभियानमा जोडिए थुप्रै सेलिब्रेटी अनि बिभिन्न पेशाका ब्यक्तिहरु ।
शुरुमा उनको यो अभियान निकै सक्रिय देखियो । सामाजिक सञ्जाल फेसबुकमा जिरो टोलरेन्स नामको ग्रुप नै बन्यो । साइबर बुलिङ, अनलाइन ह्यारेशमेण्ट र बिद्युतिय सञ्चारमाध्यममा प्रकाशित सामाग्रीहरु बिरुद्ध उनीहरुले चर्को आवाज उठाए । यति सम्मकी युट्युबमा आएका अश्लील कमेण्ट समेत हटाउन सम्बन्धित संस्था वा व्यक्तिलाई आग्रह गर्न थाले । कतै विवाद त कतै स्याबासिका बिच यो अभियान अघि बढ्यो ।
सन् २०२० को मध्य तिर अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले आफुमाथी दुब्यबहार भएको अभिब्यक्ति दिइन । उनले नाम उल्लेख नगरेपनि अभिनेता भुवन केसीलाई लक्षित गर्दै उक्त अभिब्यक्ति दिएकी थिइन । विवादले उग्र रुप लियो अहिले भुवन केसीले साम्राज्ञी बिरुद्ध मानहानीको मुद्धा दायर गरेका छन् । मुद्धा बिचाराधिन छ । यद्यपी उक्त समयमा धेरै कलाकारले मौनता साधे । उनलाई खुलेर साथ दिनेहरु कमै देखिए । त्यसको केही समयपछि नायिका पुजा शर्मालाई लक्षित गर्दै एक टेलिभिजन कार्यक्रममा प्रसारण भएको सामग्री प्रति कलाकारले असन्तुष्टि जनाए । कार्यक्रम सञ्चालकले माफी मागे पनि घट्ना शान्त भएन । यस्तै नायिका दिपाश्री निरौलाले राजेश हमाललाई लक्षित गर्दै दिएको महानायक सम्बन्धि स्टाटस् पनि विवादमा आयो । नायिकाहरु कुनै विवादमा मौन बसे भने कुनैमा आफ्नो धारणा राखे । यसैबिच केही मिडियाकर्मीले अभिनेत्रीहरु किन चुपचाप छन् भनेर प्रश्न गरे । खासगरि जिरो टोलरेन्सका अभियन्ताहरु प्रति प्रश्न केन्द्रित थिए । सायद यसैले होला ११ अगष्ट २०२० मा नायिका निशा अधिकारीले फेसबुक स्टाटस् लेख्दै त्यसको जवाफ दिइन । उनले लेखिन – ‘राष्ट्रिय स्तरका संचार माध्यमहरुबाट खुल्लमखुल्ला नेपाली महिला कलाकारहरुको शारिरिक बनावट माथि छुद्र टिप्पणी गर्दा र संस्कारको मापदण्ड उनले लगाउने पहिरनसँग जोडिदिँदा हामीले जनाएको विरोधमा, तपाँईहरुको प्रतिकृयात्मक विद्वता ‘यस्तै वा यो भन्दा गम्भीर प्रकृतिको अर्को घटनामा किन बोलिनस्’ भन्ने मै सिमीत रहेको देख्दा अफशोच लागिरहेको छ । तपाँईहरुको यस्तै टिप्पणीहरुले नै शायद पटक पटक घट्ने यस्तै घटनाहरु सामान्यिकरण हुँदा हुन् । कमसेकम एकचोटि साथ र समर्थन दिएर न्यायलाई स्थापित गराउन मद्दत त गर्नुहोस् ( लड्नलाई हामीसँग धेरै मोर्चाहरु छन्, विषयहरु छन् ।
हो हामीले सबै बेला उतिकै शक्तिशाली र ऐक्यताबध्द भएर बोल्नु पर्ने विषयमा बोलेनौँ होला, लड्नुपर्ने मैदानमा लडेनौँ होला, अग्रपंक्तिमा उभिन सकेनौँ पनि होला । कमीकमजोरीहरु भए होलान् । तर महोदय, एक मुठ्ठी सास हामी भित्र पनि छ । एक झिल्का आगो हामीसँग पनि छ । र त्यो सास, त्यो आगो भएसम्म लड्छौँ । हरेक अन्यायको बिरुध्दमा लड्छौँ । कहिलेकाँहि देखिने गरि आफुले पाएका मंचहरुबाट लड्छौँ । कहिलेकाँहि हात समाई पंक्तिबध्द भएर न्यायालयको ढोकासम्म पुगेर लड्छौँ । पुजाको लागि पनि लड्छौँ, साम्राज्ञीको लागि पनि लड्छौँ । लडिरहेका छौँ । संघर्षका माध्यम र स्वरुप फरक भए होलान् तर चिन्ता नगर्नुस्, हामी लड्छौँ ।
र, सक्नुहुन्छ भने यो संघर्षमा सामेल हुनुस्, शायद तपाँईहरुका बिद्वतापूर्ण टिप्पणीहरु, त्यतिबेला झन अर्थपूर्ण हुनेछन् । नभुलौँ – आफ्नो वचन र वाणी, विवेक र व्यवहार, साहस र संघर्ष तथा संस्कार र संवेदनाहरुको परिष्कृत रुपान्तरण गर्दै हामी सबै आ–आफ्नो उत्कृष्ट संस्करण बन्ने यात्रामा छौँ । तपाँईहरुको चेत त्यसै अनुरुप खुल्ने छन् भन्ने बिश्वास लिएका छौँ ।’
उनले पत्रकारका प्रश्नप्रति नै अफशोच लागेको टिप्पणी गरिन । त्यसको केही समय पछि यो ग्रुप त्यति सक्रिय छैन (जिरो टोलरेन्स फेसबुमा खोजिएको प्राइभेट ग्रुप भएकोले ग्रुप भित्रका अन्य विषयहरु हामीले उल्लेख नगरेका हौं) । निशाले ब्यक्त गरेको प्रतिवद्धता अनुसार उनी हरेक पिडित नारीको पक्षमा उभिनु पर्ने हो । न्यायका लागि लड्नु पर्ने हो । न्यायलयको ढोका सम्मै पुगेर लड्नु पर्ने हो ।
यतिबेला कला क्षेत्र एक नायकले नाबालिग माथी जवरजस्ती करणी गरेको मुद्धाले तातिएको छ । पक्ष र बिपक्षमा बहसहरु भइरहेका छन् । कानुनी प्रकृयामा गइसकेको बिषयमा कानुनले नै अन्तिम निर्णय गर्छ त्यसमा दुईमत छैन । तर, पिडित युवतिको लागि खै त निशा बोलेको । उनी पनि त कला क्षेत्रमै आफ्नो भविष्य निर्माण गर्दै थिइन ।
यतिबेला सामाजिक सञ्जालमा तिनै पिडित युवतिको चरित्र हत्या गरिएका बिभिन्न सामग्रीहरु छरपष्ट देख्न सकिन्छ । कानुनले सुरक्षित गरेको गोपनियताको हकको समेत बेवास्ता गर्दै उनको चरित्रमाथी नै प्रश्न उठाएका कयौं सामग्रीहरु त्यस्ता सञ्जालमा छाइरहेका छन् । तर, अ हँ जिरो टोलरेन्सका अभियन्ताहरुले देख्दै देख्दैनन् । हिजो एक राजनितीज्ञ कि डाक्टर श्रीमति बारे युट्युबको सामग्रीमै आएका कमेण्ट हटाउन क्यानडा नेपालसँगै जोरीखोज्ने तिनै नायिकाहरुले आज नाबालिगको गोपनियता मात्र हैन चरित्र माथी प्रश्न उठाइएका त्यस्ता कयौं सामग्रीहरु पटक्कै देख्दैनन् ।
त्यसो त निशासँगै यो अभियानमा जुटेकी अर्की अभिनेत्री ऋचा शर्माले आफ्नो धारणा ब्यक्त गरिसकेकी छिन । उनले सामाजिक सञ्जालमा लेखेकी छिन – ‘मुलुकी अपराध संहिताले भन्छ ‘१८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो ।’ कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो । राज्य भनेको हामी पनि त हौनी । हैन र ? १८ वर्ष मुनिकाको सहमतिमै यौन सम्बन्ध भए पनि बलात्कार ठहरिनुको कानुनी ब्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै । अनी नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रवन्ध गरिएको हो । यति बुझौँ नाबालिगकै करमा पनि कसैले यौन सम्बन्ध राख्यो भने त्यो बलात्कार हो। उसैले बोलाएको भनेर कानुनले छुट दिन्न !!
मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले। नाबालिगको संरक्षण, कानुनको सम्मान हो ।’
यहाँ कसैको पक्ष बिपक्ष लिनै पर्दैन । कमसे कम सचेतनाको लागि आफ्नो धारणा त राख्न सकिन्छ । तर, खै किन हो जिरो टोलरेन्सका अभियन्ता अन्य नायिकाहरु मौन छन् ।
जबरजस्ती करणी गरेको आरोप लागेका ति नायक माथी अहिले अनुसन्धान जारी छ । भोलि उनी निर्दोष सावित पनि होलान । तर, आज न्यायको लागि लड्दै गरेकी एक नाबालिगलाई तपाईहरुको साथ कति हौसलापूर्ण हुन्छ होला । भलै त्यो साथ तथस्ट रुपमा पनि त गर्न सकिन्छ । जसरी ऋचाले आफ्नो धारणा राखिन ।
निशाले सञ्चारमाध्यमहरुलाई लक्षित गर्दै लेखेकी थिइन – ‘कमसेकम एकचोटि साथ र समर्थन दिएर न्यायलाई स्थापित गराउन मद्दत त गर्नुहोस् – लड्नलाई हामीसँग धेरै मोर्चाहरु छन्, विषयहरु छन् ।’ यस पटक सञ्चारमाध्यम अनि सञ्चारकर्मीहरुले ठुलै साथ दिएका छन् । बरु तपाई पो कता हराउनु भयो । त्यो समय हामी लडिरहेका छौं, संघर्षका माध्यम र स्वरुप फरक भए होलान तर, चिन्ता नगर्नुस् हामी लड्छौं, भन्ने तपाई आज कता हुनुहुन्छ । किन मौन हुनुहुन्छ ।
तपाईले भन्नु भएको थियो नि – ‘महोदय, एक मुठ्ठी सास हामी भित्र पनि छ । एक झिल्का आगो हामीसँग पनि छ । र त्यो सास, त्यो आगो भएसम्म लड्छौँ ।’ तपाईले नै लेख्नु भएको थियो नि – ‘हरेक अन्यायको बिरुध्दमा लड्छौँ । कहिलेकाँहि देखिने गरि आफुले पाएका मंचहरुबाट लड्छौँ । कहिलेकाँहि हात समाई पंक्तिबध्द भएर न्यायालयको ढोकासम्म पुगेर लड्छौँ ।’ तर, अन्याय बिरुद्ध लड्ने त परैके कुरा यतिबेला तपाई आफुले पाएको वा आफैले क्रियट गरेको मञ्चमा पनि बोल्नु भएको छैन । निशा जी अब हामी के बुझौं – तपाई भित्र एक मुठ्ठी सास छैन, अनि तपाई भित्रको एक झिल्का आगो पनि निभ्यो !