पल प्रकरणबारे बोले यी ४ अभिनेत्री, कसले के भने ?
काठमाडौं - नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि अभिनेता पल शाह न्यायिक हिरासतमा छन् । उनी तनहुँ प्रहरीको न्यायिक हिरासतमा छन् । अदालतबाट अनुमति लिएर तनहुँ प्रहरीले अनुसन्धान जारी राखेको छ ।
यस प्रकरणमा सार्वजनिक गरिएका अडियोले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा धारणा सार्वजनिक भएका छन् । यसैबीच पीडित नाबालिग नायिकाको पक्षमा अभिनेत्रीहरू बोल्न थालेका छन् । आरोपी शाहको पक्षमा समूहगत आवाज उठिरहँदा अभिनेत्रीहरू पीडितको पक्षमा उभिएका हुन् ।
मंगलबार सार्वजनिक रुपमा अभिनेत्री रेखा थापाले बालिका कानुनतः सबै प्रकारको सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्ने भएकाले उनीहरूको संरक्षण गर्नुपर्र्ने बताएकी छन् । अभिनेत्री ऋचा शर्माले पनि नाबालिगको संरक्षण कानुनको सम्मान रहेको बताएकी छन् ।
ऋचाले फेसबुक पेजमा लेखेकी छन् - 'मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण, कानुनको सम्मान हो।'
यस्तै अभिनेत्री सञ्चिता लुइँटेलले पनि आपत्तिजनक भिडियोहरू भाइरल भइरहेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् । उनले यस्तो कार्यमा बालबालिकालाई पनि प्रयोग गर्नु अझै दुखद् भएको बताएकी छिन् ।
कानुनले निरुपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत–प्रतिष्ठामा आँच आउने र चरित्रहत्या गर्ने किसिमका पोस्टहरू बन्द गर्न सञ्चिताले आग्रह गरेकी छिन् । यस्तै अभिनेत्री लक्ष्मी बर्देवाले पनि सामाजिक सञ्जालमार्फत नै कानुनविपरीत कार्य गर्दा सजाय भोग्नु पर्ने बताएकी छिन् ।