पल प्रकरण बारे बोलिन् अभिनेत्री प्रियंका कार्की, - पीडितले 'म पीडित हुँ' भन्न मात्र पनि ठुलै हिम्मत बोक्नुपर्छ
काठमाडौं - नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि अभिनेता पल शाह न्यायिक हिरासतमा छन् । उनी तनहुँ प्रहरीको न्यायिक हिरासतमा छन् । अदालतबाट अनुमति लिएर तनहुँ प्रहरीले अनुसन्धान जारी राखेको छ ।
यस प्रकरणमा सार्वजनिक गरिएका अडियोले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा धारणा सार्वजनिक भएका छन् । यसैबीच यस प्रकरणबारे अभिनेत्री प्रियंका कार्कीले पनि आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।
उनले बिहिबार सामाजिक सञ्जालमार्फत नाबालिगले 'म पीडित हुँ' भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै नसक्ने बताएकी छिन् ।
उनले लेखेकी छिन् - दुखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले "म पीडित हुँ" भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी-बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु।
नाबालिगको हकमा, मैले बुझे अनुसार, उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार, उमेर नपुगेकाहरुको 'निर्णय लिन सक्ने क्षमता'लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ।
नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो। यस्तो अवस्थामा, नाबालिगले 'म पीडित हुँ' भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन। बाँकी काम कानुनको, वहाँहरुलाई निश्पक्ष काम गर्न दिनु हाम्रो कर्तव्य हो।