Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रकाश सुबेदी माथी सुदर्शनको आरोप – पैसाको खेल कि पुरानै दुश्मनी  !

बिहीबार, मंसिर ८, २०७९

टेलिभिजन कार्यक्रम रजतपटका सञ्चालक प्रकाश सुबेदी र नायिका पुजा शर्मा एण्ड कम्पनीको लफडा नयाँ हुँदै होइन । पाए सम्म एकले अर्कालाई पेल्नै खोज्छन् । तर्क दिएर होस् वा कुतर्क गरेरै किन नहोस् ।

झण्डै दुई वर्ष अघि पुजाले प्रकाश सुबेदीलाई दिएको एक अन्र्तवार्ता भाइरल भयो । जहाँ पुजा नेपालका जिल्ला बारे सोधिएको प्रश्नमा चिप्लिएकी थिइन । त्यसो त उक्त अन्र्तवार्ता प्रकाशित भएको लामो समयपछि उक्त क्लिप भाइरल भएको थियो । जसका कारण पुजा र प्रकाशको सम्बन्ध चिसिन पुग्यो । पुजाले अन्य केही मिडियामा अन्र्तवार्ता दिएर आफुले काट्न (सम्पादन गरेर हटाउन) भन्दा भन्दै पनि प्रशारण गरेको भन्दै असन्तुष्टि जनाइन ।

प्रकाशले पनि आफ्नै कार्यक्रम (पहिला प्राइम टिभीमा आउने उनको कार्यक्रम डेढ वर्ष यता एपीवानमा आउँछ) मा जवाफ फर्काए । पुजाको शारिरिक बनावटलाई लिएर उनले छुद्र टिप्पणी गरे । अनि त के चाहियो वार कि पार शुरु भइहाल्यो । धेरैले प्रकाश सुबेदीको आलोचना गरे । प्रकाश सुबेदीले तुरुन्तै माफी पनि मागे । चलचित्र क्षेत्रका केही संस्थाले त प्रकाश सुबेदीको कार्यक्रम बहिस्कार सम्मको निर्णय नै गरे । त्यसपछि पुजा र प्रकाशको सम्बन्ध झन् चिसियो । हुन् त त्यो बेला पनि प्रकाशको कार्यक्रममा अन्र्तवार्ता दिन नमान्दा आफुलाई तुच्छ टिप्पणी गरेको पुजाको भनाई आएको थियो ।

उनीहरु बिचको यो चिसोपन फेरी एकपटक सतहमा आएको छ । यतिबेला सुदर्शन थापा र पुजा शर्माको निर्माण रहेको चलचित्र म यस्तो गीत गाउँछु २ प्रदर्शन भइरहेको छ । चलचित्रले व्यवसायिक सफलता पनि पाइरहेको छ । तर समिक्षात्मक दृष्टिले चलचित्र निकै कमजोर छ । बिहिबार प्रसारण भएको रजतपट नामक कार्यक्रममा प्रकाश सुबेदीले पनि यही चलचित्रको तिनवटा रिपोर्ट प्रशारण गरेका छन् ।

एउटा रिपोर्टमा उनले चलचित्रको व्यवसायिक सफलताको चर्चा गरेका छन् । रेकर्ड ब्रेक व्यापार गरेको उनको रिपोर्टमा समावेश छ । उनले दर्शकले मन पराएको तर समिक्षकले भने राम्रो भन्दा नराम्रो पक्ष बढी भेटाएको उल्लेख गरेका छन् । यति सम्मकी निर्माताहरुले बोरामै पैसा सोहोरिरहेको बताएका छन् ।

अर्को रिपोर्टमा भने उनले चलचित्रको समक्षिा प्रसारण गरेका छन् । समिक्षा मनिष अन्जानले तयार पारेको उनले लिंकमै बताएका छन् । समिक्षा भने उही अन्य समिक्षकले लेखेको जस्तै छ । हरिहर शर्माको अभिनय, अर्जुन पोखरेलको संगीत र छायाँकन पक्ष उनले उत्कृष्ट भनेका छन् । तर, उक्त रिपोर्टमा एउटा गल्ति के छ भने छायाँकार सञ्जय लामा भनिएको छ । तर यसको छायाँकार सौरभ लामा हुन् ।

यस्तै तेस्रो रिपोर्टमा भने पुजाले पलको नाममा इमोशनल ब्ल्याकमेलिङ गरिरहेको उल्लेख गरेका छन् । पलले सार्वजनिक गरेको ६ वटा अडियोले पल प्रति दर्शकको सेन्टिमेण्ट पलाएको अनि पुजाले पनि इमोशनल ब्ल्याकमेल गरेको बताएका छन् । इमोशनल ब्ल्याकमेलिङ नगरेको भए चलचित्र नचल्ने तर्क चलचित्रका महापण्डितहरुले गरेको उनले उल्लेख गरेका छन् ।

उनले प्रसारण गरेका यिनै रिपोर्टलाई लिएर निर्देशक समेत रहेका निर्माता थापाले भने असन्तुष्टि जनाएका छन् । असन्तुष्टि मात्र होइन प्रकाश सुबेदी आफ्नो चलचित्रलाई सकाउन हात धोएरै लागेको आरोप पनि लगाएका छन् । उनले लेखेका छन – 

रजतपट एपिसोड किन्न नमानेको नतिजा:
 
नाम चलचित्र को काम कलाकार को व्यक्तिगत जिन्दगी काहा गयो??को सङ्ग सेल्फी खिच्यो??को सङ्ग टिक्टक बनायो?? कलाकार को चियो चर्चो र ब्यङ्ग गरेर आफ्नो मात्र रोटी सेकी रहेको कार्यक्रम हो रजतपट्, यो कार्यक्रम ले कति कलाकार हरुलाइ ट्रोल गरिसक्यो, कति को चरित्र हत्या गरिसक्यो बिगतमा धेरै उदाहरण छन्, भो त्यतातिर नजाउ म प्रसङ्गमा नै आउन चाहे, केही समय अगाडी कार्यक्रम रजतपट ले एउटा एपिसोड “म यस्तो गीत गाउछु 2” विशेष बनाउ भन्दै एउटा एपिसोड किनिदिन आग्रह गरेको थियो सो आग्रहलाइ निर्माण कम्पनी ले नमाने पछि अर्को प्रस्ताब आएको थियो । प्रस्ताब यस्तो थियो नायिका पुजा शर्माले उहाको कार्यक्रम मा अन्तर्वार्ता दिने उक्त अन्तरवार्ता दिए वापत रजतपट ले चलचित्र “म यस्तो गीत गाउछु 2” को प्रचारमा सहयोग गर्ने सो प्रस्ताव पनि निर्माण कम्पनीले स्वीकार गर्न सकेन किनकि ग्ल्यामर गफ नाम गरेको त्यो कार्यक्रम पनि धर्मसंकट भन्दै कलाकारहरुको बोली चिप्ल्याउने र बिबादमा ल्याएर आफ्नो दुनो सोझ्याउने बाहेक केही होइन, यस्ता प्रत्यायोजित कार्यक्रमहरुले झन दर्शक र कलाकारको बिचमा फाटो ल्याइरहेको छ त्यसैले त्यो कार्यक्रम पनि अस्वीकार गरियो फलश्वरुप "म यस्तो गीत गाउछु 2" लाई सकाउन हात धोएर मात्र होइन नुहाइ धुवाइ साबुन सेम्पु सेनिटाइजर के के गरेर हुन्छ नियोजित षडयन्त्रमा उत्रीएको पुष्टि रजतपट आफैले पनि गरेको छ ।
 
अरुलाइ सिध्याउछु भनेर षड्यन्त्र गर्ने हरुले एउटा गल्ती चाही छोडेकै हुन्छ्, उहाले चलचित्र “म यस्तो गीत गाउछु 2” फिल्म हेर्नु भएँकै छैन, तर षड्यन्त्र पुर्वक समिक्षा गर्दिनु भएको छ्, लाखौ दर्शक ले मन पराएका छन त्यहीं दर्शक लाइ गाली गर्नु भएको छ । यदि हेर्नु भएको थियो भने उहाले चलचित्र “म यस्तो गीत गाउछु 2” को अत्यन्त महत्वपूर्ण व्यक्ति छायांकारको नाम र फोटो समेत गलत प्रयोग गर्नु भएको छ । उहाले चलचित्र को मूख्य प्राबिधिक जो पछिल्लो समयका चर्चित छायांकार हुन उनको नाम र फोटो समेत अर्को छायांकारको हालिदिन्छन भने लाखौ दर्शकले मन पराएको चलचित्र माथि पुर्वयोजना र षड्यन्त्र अनुसार टिप्पणी गरिनु गम्भीर भुल हो । यसले नेपाली चलचित्र को मात्र अपमान गरेकोे छैन लाखौ दर्शकहरुको भावनामाथि खेलबाड गरेको छ ।
 
यी र यस्ता षड्यन्त्रमूलक कार्यक्रम निर्माण गरी ब्ल्याकमेलिङ्ग शैली मा पैसा नदिने तथा उनको डलरको खेतीको लागी अन्तर्वार्ता नदिने कलाकार र चलचित्रलाइ नै सिध्याउने प्रयत्न गर्ने सङ्ग अब हामी सबै सजग हुन जरुरी छ ।
 
“म यस्तो गीत गाउछु 2” लाइ दिनु भएको माया प्रति हामी सम्पूर्ण दर्शक प्रति आभारी छौ । त्यस कार्यक्रमले भगवान रुपी दर्शक हरुको अपमान गरी दर्शक लाइ भेडा संज्ञा दिने प्रयास भएकोले यी कुरा हरु सार्वजनिक गर्नु आबश्यक लाग्यो । भनिन्छ कुकुर भुक्दै जान्छ हात्ती लम्किदै जान्छ । तर कुकुर कुन स्वास्थ छ कि छैन यति चाही हात्तीले पनि ख्याल गर्नु पर्छ ।
 
जय नेपाल ! जय नेपाली चलचित्र ! जय दर्शक !

सुदर्शनले प्रकाशले आफ्नो कार्यक्रम किननिदिन आग्रह गरेको बताएका छन् । त्यो प्रस्ताव अस्विकार गर्दा अर्को कार्यक्रममा पुजाको अन्र्तवार्ता माग गरेको तर त्यो पनि अस्विकार गर्दा चलचित्रलाई नै सकाउन लागेको उल्लेख गरेका छन् । यद्यपी सुदर्शनले कार्यक्रम किनिदिन आग्रह गरेको कुराको कुनै प्रमाण पेश गरेका छैनन् । यदि उनीसँग उक्त प्रमाण छ भने प्रसारण संस्थाले पक्कै पनि प्रकाश सुबेदीमाथी एक्सन लिनु पर्छ । प्रेस काउन्सिल जस्ता संस्थाले उनको प्रसारण संस्थामाथी कारबाही गर्नु पर्छ । तर, नबुझेको कुरा प्रकाश सुबेदीले यो कार्यक्रममा चलचित्रको राम्रो पक्षको पनि त कुरा गरेका छन् । चलचित्रले रेकर्डब्रेक ब्यापार गरेको कुरा पनि त गरेका छन् । तर, सुदर्शन किन समिक्षामा मात्र केन्द्रित भए । हो प्रकाशले छायाँकारको नाम गलत लिएकै हुन् । यो गल्ति उनले पक्कै सच्याउलान । तर, त्यसले उक्त समिक्षामा खासै अर्थ राखेको छैन । अनि न त यसले दर्शकको भावनामा कुनै खेलवाड गरेको छ । अनि अर्को कुरा दर्शकले मन पराएका चलचित्रलाई समिक्षकले पनि राम्रै भन्नु पर्ने हो र ? समिक्षकले राम्रा भनेका चलचित्र मात्र बजारमा चल्ने हुन् र ? पक्कै पनि बक्स अफिस कलेक्सन र समिक्षा दुई अलग कुरा हुन् । जुन हरेक चलचित्रकर्मीले बुझ्न जरुरी छ ।

अर्को तर्फ यो चलचित्रको समिक्षा अन्य मिडियामा पनि आएको छ । अन्य सञ्चारमाध्यममा आएका समिक्षाबारे भने सुदर्शनले कुनै प्रतिक्रिया जनाएका छैनन् । सुदर्शनले किन रजतपटकै समिक्षा माथी असन्तुष्टि जनाए त ? यसका दुई कारण हुन सक्छन् – पहिलो उनले दाबी गरे झै पैसाको खेल अर्थात रजतपटको एपिसोड नकिनेको भएर, पुजाले ग्ल्यामर गफमा अन्र्तवार्ता नदिएको भएर, अर्को उही प्रकाश पुजाको पुरानै दुश्मनी ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:५९
प्रतिक्रिया दिनुहोस्