पल प्रकरणमा मानव अधिकार आयोगको धारणा – संयमित भई अनुसन्धान प्रकृयालाई सघाउन आग्रह
पल शाह प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो धारणा सार्वजनिक गरेको छ । आयोगले अनुसन्धान प्रक्रिया प्रभावित पार्ने गरी भइरहेका गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सहायक प्रवत्ता लोकनाथ बास्तोलाद्वारा जारी बिज्ञप्तीमा संयमित भई अनुसन्धान प्रकृयालाई सघाउन आग्रह गरिएको छ ।
बिज्ञप्तीमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ भन्दै अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुने सम्भावना रहने उल्लेख गरिएको छ ।
यस प्रकारका गतिविधिले नेपालको संविधानको धारा २८ को गोपनीयताको हक र धारा २० मा उल्लेखित न्याय सम्बन्धी हक, मुलुकी फौजदारी संहिताको दफा २९८, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १२ र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १७ मा व्यवस्था भएको गोपनीयताको अधिकार समेत प्रभावित भएको देखिने भन्दै त्यसो नगर्न बिज्ञप्तीमा आग्रह गरिएको छ ।