Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुसद्वारा अस्थायी रूपमा दुई सहरमा युद्धविराम घोषणा

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ — युक्रेनसँगको संघर्षको दसौँ दिन रुसले अस्थायी रूपमा दुई सहरमा युद्धविराम घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले शनिबार युद्धविराम घोषणा गरेको हो । 

रुसी समाचार संस्था तासका अनुसार मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने छ ।

तासले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ, आज मार्च ५का दिन मस्कोको समयअनुसार बिहान १० बजे युद्धविराम घोषणा गरिएको छ । साथै मरिपोल र भोल्नोभाखाका बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुला गरिएको छ ।

दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि करिडोर खुला गरिने सहमति भएको थियो ।

रुसी रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनी सहरहरूलाई निसानामा नराखेको पनि दाबी गरेको छ । साथै उसले सर्वसाधारणलाई कुनै पनि खतरा नभएको दाबी गर्दै केवल सैन्य संरचनामा मात्रै आक्रमण गरिएको बताएको छ । मरिपोल र भोल्नोखोभामा केही दिनदेखि दुवै पक्षबीच भीषण संघर्ष जारी रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:२३
प्रतिक्रिया दिनुहोस्