युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आग्रहः लडाइँ जारी राख्नौ
एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार राति किभबाट राष्ट्रका नाममा सम्बोधन गर्दै युक्रेनका जनतालाई रुसी आक्रमण विरुद्ध लडाइँ जारी राख्न आग्रह गरेका छन् ।
जनतामा उत्साह बढाउँदै उनले अब जवाफ दिने समय आएको बताए । योसँगै उनले युक्रेनलाई थप लडाकु विमान उपलब्ध गराउन अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अपिल गरेका छन् ।
उनले अमेरिकालाई रुसी निर्मित लडाकु विमान उपलब्ध गराउन आग्रह गर्दै यी विमानहरू युक्रेनी पाइलटहरूले सञ्चालन गर्न सक्ने बताएका छन् ।
युक्रेनलाई मिग लडाकु विमानहरू दिनका लागि अमेरिकी अधिकारीहरू पोल्याण्डका नेताहरूसँग सम्पर्कमा रहेको बताइएको छ ।
पोल्याण्डले बिस्तारै सोभियत युगका लडाकु विमानहरूको प्रयोग बन्द गर्दैछ । यस्तो अवस्थामा युक्रेनका पाइलटहरूले पश्चिममा निर्मित विमान उडाउने तालिम नपाएकाले यी विमान युक्रेनलाई दिन सकिन्छ ।