ठूलो मात्रामा रकम विदेशिएपछि राष्ट्र बैंकले घटाइदियो सुन आयातको कोटा
काठमाडौं – सुन आयातमा ठूलो मात्रामा रकम विदेशिन थालेपछि नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा घटाइदिएको छ । केन्द्रीय बैंकले आइतवार सूचना जारी गरेर बैंकहरूले आयात गर्न पाउने सुनको कोटा दैनिक १० किलोग्राममा सीमित गरिदिएको हो ।
यसअघि दैनिक २० किलो दैनिक आयात गर्न सकिने व्यवस्था थियो । अब १० किलो मात्र आयात गर्न सकिने भएको छ ।
नेपालमा बैंकहरूले सुन आयात गरेर बजारमा उपलब्ध गराउँछन् । नेपाल बैकर्स एसोसिएशनले सुन आयात गर्न बैंकहरूलाई पालो तोक्ने गरेको छ ।
राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले सूचना जारी गरेर सुन आयातको सीमा ५० प्रतिशत घटाएको बताएका छन् ।
गत वर्षको चैतमा सुनको माग धेरै भएको भन्दै सुन आयातको कोटा बढाएर २० किलो पु¥याइएको थियो । राष्ट्र बैंकमा विदेशी मुद्राको सञ्चितिमा निरन्तर दबाब परेपछि सुन आयातलाई राष्ट्र बैंकले कम गर्ने नीति लिएको छ ।
तर, व्यवसायीहरूले भने २० किलो आयात हुँदा पनि बजार माग धान्न कठिन हुने गरेको बताउँदै आएका थिए । विवाह र चाडपर्वको सिजनमा नेपालमा सुनको धेरै माग हुने गरेको छ ।