जातिय बिभेद केवल एक सम्प्रदाय या जातिको मात्र समस्या नभएको शिब परियारको भनाई
गायक शिब परियारले जातिय बिभेद केवल एक सम्प्रदाय या जातिको मात्र समस्या नभई समग्र देशकै बिकासका लागि बाधन बनेको उल्लेख गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै गायक परियारले यस्तो जनाएका हुन् । उनले जातिय बिभेदको अन्त्यका लागि जुट्न सबैमा आग्रह समेत गरेका छन् ।
उनले जातिय बिभेद उन्मुलन वा जातिय समानताका गीतमा समेत परियार, नेपाली, विश्वकर्मा नै थर भएका गायक गायिका गाउन लगाउनु पनि जातिय बिभेदको एउटा शुषुप्त नमुना भएको उल्लेख गरेका छन् । उनले यस्ता गीत गैर उत्पीडित भनेर चिनिएका सम्प्रदाय सम्बद्ध गायक गायिकाले गाउँदा झन प्रभावकारी हुने पनि उल्लेख गरेका छन् ।
यस्तो छ शिबको स्टाटस् – ‘जातिय बिभेद उन्मुलन तथा जातिय समताका लागि दुई शब्द कोरिने बित्तिकै त्यसलाई स्वरांकन गर्नका लागि परियार, नेपालि, बिश्वकर्मा नै थर भएका गायक गायिका मात्र खोजि गरि हिड्नु र गायनका लागि प्रस्ताव गर्नु वा यस बिषय संबद्ध गायनमा उनिहरुलाई मात्र संलग्न गराउँने सोच राख्नु पनि जातिय बिभेदकै एउटा शुषुप्त नमुना हो, जातिय समताका लागि जनचेतना जगाउँने गीत गैर उत्पिडित भनेर चिनिएका सम्प्रदाय सम्बद्ध गायक गायिकाले गाउदा झन यो बिषयमा अझ्झ जनचेतना फैलिन सक्दछ, जातिय बिभेद केवल एक सम्प्रदाय या जातिको मात्र समस्या नभई यो समग्र देशकै चेतनाको बिकाशको बाधक बनेको समस्या हो, यो समग्र नेपाल देशकै बिकाशको बाधक समस्या हो, सबैले बुझौं र सबैले यो निर्मुल पार्ने प्रेमिल अभियानमा आफुलाई आजै देखि सामेल गरौं ।’