‘चिसो एष्ट्रे’को अष्ट्रेलिया राइटस् २७ लाखमा बिक्री
आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया प्रदर्शन राइटस् बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अष्ट्रेलियाको कमेरो इभेन्ट्सलाई उक्त राइटस् बिक्रि गरेका हुन् ।
कंगारु क्रिएसनका प्रमुख तथा ‘चिसो एष्ट्रे’ चलचित्रका निर्माता महेशबाबु तिमिल्सिनाले कमेरोले ३० हजार अष्ट्रेलियन डलरमा प्रदर्शन अधिकार लिएको जनाएका छन् । अहिलेको चलिरहेको अष्ट्रेलियन डलरलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा यो २७ लाख बराबर हुन आउँछ । कमेरोका सुरज सुवेदी र निर्माता महेशबीच चलचित्र प्रदर्शन गर्ने सम्बन्धमा औपचारिक सम्झौतासमेत सम्पन्न भइसकेको छ ।
‘अष्ट्रेलियामा निरन्तर कार्यक्रमहरू गरिरहने कमेरो इभेन्ट्ससँग हाम्रो चलचित्र पनि चलाउने सम्झौता भएको छ । उहाँहरूसँग पहिला पनि थुप्रै नेपाली चलचित्र प्रदर्शन गरेको अनुभव छ,’ निर्माता महेशले भने, ‘लामो समयपछि अष्ट्रेलियामा नेपाली चलचित्र प्रदर्शन हुन लागेको छ । यसले हामीसँगै अष्ट्रेलियाका नेपाली पनि उत्साहित हुनुहुन्छ । यसले विदेशतिर नेपाली चलचित्र प्रदर्शनको बाटो बनाउने कुरामा पनि हामी आशावादी छौँ ।’
दिन्स पाल्पालीको लेखन तथा निर्देशन रहेको चलचित्रले ट्रेलर सार्वजनिकीकरण पछि राम्रो चर्चा पाइरहेको छ । चलचित्रको टोन, कलाकारको अभिनय, छायांकन तथा भूपि शेरचनको कविताको भावलाई पर्दामा उतार्ने जमर्को गरेको भन्दै चलचित्रको प्रशंसा भइरहेको छ ।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । चलचित्रको सह निर्मातामा भने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् ।
चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील पाण्डे, रविन तामाङ आदि कलाकारको अभिनय रहेको छ । चलचित्र चैत ४ अर्थात् आउँदो शुक्रबार नेपालमा प्रदर्शन हुँदैछ ।