अमेरिकाको दाबी : रुसले चीनसँग सैन्य र आर्थिक सहयोग माग्यो
काठमाडौँ - रुसले चीनसँग सैन्य सामग्रीको सहायता मागेको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।
अमेरिकाका भिन्नाभिन्नै पत्रिकाहरूले अमेरिकी अधिकारीलाई उदृत गर्दै रुसले चीनको सहयोग मागेको उल्लेख गरेका छन् ।
फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले बेइजिङ्सँग त्यस्तो मद्दत मागेको थियो।
तर विवरणमा रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने बताइएको छैन।
वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन् ।
उनले चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु नै रहेको बताए। हालसम्म चीनले रुस-युक्रेन युद्धमा आफूलाई तटस्थ रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ।
तर उसले युक्रेन अतिक्रमणलाई लिएर रुसको निन्दा भने गरेको छैन।
-एजेन्सी
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:३८
प्रतिक्रिया दिनुहोस्