प्रकाश सपुतको गीत 'पीर' बन्द गर्न दबाब दिनु गलत भन्दै दीपकराज गिरीले सोधे यी ३ प्रश्न
काठमाडौं - गायक प्रकाश सपुतको गीत पीर अहिले विवादमा आएको छ । गीतमा रहेको एक दुश्यलाई लिएर नेकपा माओवादी केन्द्रका नेताहरुले आपत्ति जनाइरहेका छन् ।
माओवादी जनयुद्धका कथावस्तुमा तयार पारिएको गीतको भिडियोलाई लिएर माओवादी केन्द्रनिकट चार संगठनले विरोध जनाउदै हटाउन चेतावनी पनि दिइसकेका छन् ।
प्रकाशले पनि समाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक पनि गरिसकेका छन् । उनले गीतमा समावेश आत्मसम्मान सँग जोडिएको प्रतिकात्मक दृष्यलाई लिएर आत्मआलोचना गरेका छन् ।
यसैबीच नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा हास्यकलाकार दीपकराज गिरीले यस बारे आफ्नो प्रतिक्रिया राखेका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफूलाई गायक प्रकाश सपुतको नयाँ गीत असाध्यै मन परेको बताएका छन्।
उनले गीतले आफूलाई छोएको र धेरैलाइ छोएको हुनुपर्ने बताएका छन् । उनले केहि मानिस मौक़ा यही हो भनेर माओबादी पार्टीलाइ समूह बनाएरै सराप्न थालेको बताएका छन् । उनले गीत बन्द गर्न दबाब चाहि दिनु गलत भन्दै ३ प्रश्न गरेका छन् ।
उनले लेखेका छन् - "पीर गीत असाध्यै राम्रो ! मलाइ पनि छोयो ,धेरै लाइ छोएको हुनु पर्छ ! तर केहि मानिस मौक़ा यही हो भनेर माओबादी पार्टी लाइ , समूह बनाएरै सराप्न थालेको पनि देखे, कुन चाहि पार्टी मा केहि मानिशको रजॉइं र केहि मानिशको हरि बिजोक छैन ? कुन दल का मान्छे ले हाम्रो पार्टी मा त्यस्तो अबस्था छैन भनेर ठोकूबा गर्न सक्छ ? उसैको बिचार बाट आएको संबिधानमा टेकेर राजनीति पनि गर्ने , अनि सत्तो सराप पनि उसैलाइ गर्ने ? हो गीत बन्द गर्न दबाब चाहि दिनु गलत नै हो …."