Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेन युद्धमा के रुसले रासायनिक अस्त्र प्रयोग गर्छ ? के हो रासायनिक अस्त्र ?

बिहीबार, मंसिर ८, २०७९
युक्रेनले रासायनिक हतियार विकास गर्ने योजना बनाएको दाबी गर्दै त्यसबारे छलफल गर्नका लागि शुक्रवार रुसले संयुक्त राष्ट्रसङ्घको विशेष आपत्कालीन बैठकको माग गरेको छ। तर उक्त दाबीलाई ''फ्ल्स फ्लाग'' (विपक्षीलाई आरोप लगाउने उद्देश्यसहित बनाइएको राजनीतिक वा सैन्य कारबाही) भन्दै युक्रेन र अमेरिकाले आपत्ति जनाएका छन्। उनीहरूले यो युक्रेनमा रासायनिक अस्त्र प्रयोग गर्ने औचित्य पुष्टि गर्न गरेको सङ्केत गरेका छन्।युक्रेनमा रासायनिक प्रयोगशाला स्थापना गरिएको छ जहाँ कोभिडजस्ता रोगहरूबाट सर्वसाधारणहरूलाई जोगाउनका लागि वैज्ञानिकहरूले काम गरिरहेको सरकारले जनाएको छ। युद्ध चलिरहेका कारण विश्व स्वास्थ्य सङ्गठनले युक्रेनलाई प्रयोगशालामा रहेका सबै खतरनाक सूक्ष्म जीवाणु नष्ट गर्न भनेको छ। रासायनिक अस्त्र के हुन र यो जैविक हतियारभन्दा कसरी फरक हुन्छ? रासायनिक हतियारहरू त्यस्ता हतियार हुन् जसले विषाक्त पदार्थ वा शरीरको प्रणालीमा आक्रमण गर्न सक्ने रासायनिक पदार्थहरू बोक्छन्।रासायनिक अस्त्रका विभिन्न वर्ग छन्। कार्बन अक्सिक्लोराईड भनिने विषालु ग्यासले फोक्सो अनि श्वासप्रश्वास प्रणालीमा असर गर्छ।त्यस्तै 'मस्टर्ड ग्याँस' जस्ता 'ब्लिस्टर एजेन्ट'ले छाला पोल्ने अनि मानिसहरूको दृष्टिविहीन बनाउन सक्छन्। र अर्को सबैभन्दा घातक वर्ग हो: स्नायु प्रणालीमा असर पर्ने तत्त्व, जसले मस्तिष्क र मांसपेशीबीचको सञ्चारमा समस्या पार्छ। यसको एउटा सानो थोपासमेत घातक हुन्छ। भीएक्स भनिने नर्भ एजेन्ट अर्थात् स्नायु प्रणालीमा असर पार्ने तत्त्वको ०.५ एमजी मात्रा वयस्क मानिसलाई मार्न काफी हुन्छ।यस्ता रासायनिक तत्त्व युद्धमा प्रयोग हुने गोलाबारी, बम अनि क्षेप्यास्त्रमा राख्न सकिन्छ। तर रुससहित निकै धेरै राष्ट्रहरूले १९९७ को रासायनिकअस्त्रसम्बन्धी महासन्धिमा हस्ताक्षर गरेका छन्। रासायनिक अस्त्र सम्बन्धी निगरानी समूह अर्गनाइजेसन फर द प्रोहीभीसन अफ केमिकल वेपन्स ओपीसीडब्लू नेदरल्यान्ड्सको हेगमा छ।उक्त निकायले रासायनिक अस्त्रको गैरकानुनी प्रयोगबारे निगरानी गर्नुका साथै यसको विकास नियन्त्रण गर्ने प्रयास गर्छ। पहिलो विश्व युद्ध, सन् १९८० को दशकमा भएका इराक-इरान युद्धमा यस्ता हतियार प्रयोग भएका थिए। पछिल्लो समय सिरियाली सरकारले विद्रोही फौजविरुद्ध रासायनिक अस्त्र प्रयोग गरेको थियो। रुसले सन् २०१७ मा आफूसँग रहेको रासायनिक अस्त्रको अन्तिम मौज्दात नष्ट गरेको जनाएको छ तर मस्कोमाथि कम्तीमा दुई वटा जैविक आक्रमणको आरोप छ। रुसको जैविक आक्रमण - त्यसमध्ये पहिलो सन् २०१८ को मार्चमा भएको यूकेको सोल्सबेरी आक्रमण हो।केजीबीका पूर्वअधिकारी सर्जी स्क्रीपल र उनकी छोरीलाई नोभिचोक भनिने स्नायु प्रणालीमा असर गर्ने एउटा विष दिइएको थियो। रुसले त्यसको जिम्मेवारी लिन अस्वीकार गर्‍यो र यसको प्रयोग कसले गरेको हुनसक्छ भन्ने विषयबारे २० वटा फरक किसिमका व्याख्या गरेको थियो।तर उक्त कार्य रुसको सैन्य गुप्तचरी निकाय जीआरयूका दुई जना कर्मचारीले गरेको अनुसन्धानकर्ताहरूले निष्कर्ष निकालेका थिए। फलस्वरूप १२८ जना रुसी जासुस अनि कूटनीतिज्ञहरूलाई विभिन्न राष्ट्रहरूले निष्कासन गरेका थिए।त्यसपछि सन् २०२०को अगस्ट महिनामा रुसका विपक्षी नेता एलेक्सी नभाल्नीलाई पनि नोभिचोक दिइएको थियो। तर उनी त्यसबाट बाँच्न सफल भए। के रुसले युक्रेनमा रासायनिक अस्त्र प्रयोग गर्न सक्छ? यदि रुसले आफ्नो युद्धमा विषाक्त ग्यास जस्ता हतियारहरू प्रयोग गर्ने हो भने त्यसलाई हद पार गरेको रूपमा हेरिन सक्छ। र सम्भवतः यसले पश्चिमा राष्ट्रहरूलाई निर्णायक कदम चाल्न प्रेरित गर्न सक्छ। सिरियामा विद्रोहीहरूलाई परास्त गर्नका लागि रुसले आफ्नो साझेदारलाई रासायनिक अस्त्र उपलब्ध गराएको विषयको कुनै प्रमाण छैन।तर रुसले बसर अल असदले नेतृत्व गरेको सरकारलाई व्यापक सैन्य सहायता उपलब्ध गराएको थियो। असदमाथि आफ्नै जनताविरुद्ध दर्जनौँ रासायनिक अस्त्र प्रयोगको आरोप छ। जैविक अस्त्र र रासायनिक अस्त्रबीच फरक छ। जैविक अस्त्र भन्नाले इबोलाजस्ता कीटाणुलाई हतियारका रूपमा प्रयोग गरिएको बुझिन्छ।समस्या के हो भने हानिकारक रोगहरूबाट जोगाउन गरिने काम र कसरी कीटाणुलाई अस्त्रका रूपमा प्रयोग गर्न सकिन्छ भनेर गोप्य रूपमा गरिने काम छुट्टाउन सहज छैन। रुसले युक्रेनले गलत गरेको प्रमाण पेस गरेको छैन। तर शुक्रवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाएको छ। सोभियत सङ्घको भाग छँदा रुसले एउटा व्यापक जैविक अस्त्र कार्यक्रम नियन्त्रण गरेको थियो। बायोप्रिपारात भनिने निकायले सञ्चालन गर्ने उक्त कार्यक्रम अन्तर्गत झन्डै ७०,००० कर्मचारी परिचालित थिए। शीतयुद्ध अन्त्य भएपछि वैज्ञानिकहरू यसलाई निष्क्रिय पार्न त्यहाँ पुगे। त्यहाँ उनीहरूले सोभियत सङ्घले ठूलो परिमाणमा एन्थ्राक्स भनिने विरल तर खतरनाक ब्याक्टेरिया सङ्क्रमण र बिफर अनि अन्य रोगहरूलाई दक्षिणी रुसमा रहेको एक टापुमा रहेका बाँदरहरूमा परीक्षण गरेर अस्त्रका रूपमा विकास गरेको पाएका थिए। उनीहरूले एन्थ्राक्सलाई लामो दूरीमा प्रहार गर्न सकिने क्षेप्यास्त्रहरूमा हालेका थिए जुन पश्चिमा सहरहरूप्रति लक्षित थियो।अन्ततः नयाँ हतियारहरूको यो डरलाग्दो क्रममा ''डर्टी बम'' पनि छ जुन एक रेडियोयाक्टीभ तत्त्वले घेरिएको एक सामान्य विस्फोटक हो। यसलाई आरडीडी रेडिओलजीकल डिस्पर्सल डिभाइस भनेर चिनिन्छ।सुरुवाती चरणमा यसले सामान्य बमभन्दा बढी मानिस मार्छ भन्ने छैन।तर यो ठूलो क्षेत्रमा फैलिन सक्छ र त्यो स्थान हप्तैसम्म बसोबास लागि अयोग्य हुनसक्छ। डर्टी बम लगभग एक प्रकारको मनोवैज्ञानिक हतियार जस्तै हो जसले सर्वसाधारणमा आतङ्क पैदा गर्न र समाजको मनोबल कमजोर बनाउने हिसाबले तयार पारिएको हुन्छ। यो धेरै युद्धमा प्रयोग भएको देखिएको छैन किनभने यो प्रयोग गर्नेका लागि पनि खतरनाक हुनसक्छ। - फ्रयाङ्क गार्डनर बीबीसी सुरक्षा संवाददाता हुन् । समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:३२
प्रतिक्रिया दिनुहोस्