संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
काठमाडौँ - सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज विभिन्न संवैधानिक आयोगमा पदाधिकारीको नियुक्तीविरुद्धका मुद्दाको सुनुवाइ हुने भएको छ ।
मुलुकको राजनीतिमा बैग्लै तरंग थपिदिन सक्ने यस मुद्दालाई महत्वका साथ हेरिउको छ ।
संवैधानिक इजलासमा विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्धका मुद्दाको सुनुवाइ हुन लागेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
संवैधानिक इजलासको शुक्रबारको पेसीमा संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिविरुद्धका मुद्दा राखिएको छ । संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश ल्याएर ती नियुक्ति गरेका थिए । त्यसलगत्तै प्रतिनिधिसभा विघटन गरेर नियुक्तिका लागि सिफारिस भएकाहरूको संसदीय सुनुवाइ भएको थिएन ।
संविधानको व्यवस्था विपरीत हुनेगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको, एकै दिन अध्यादेश जारी गरेर सोही दिन नियुक्ति सिफारिस गरेको, प्रतिपक्ष दलको नेता र सभामुखजस्ता महत्वपूर्ण व्यक्ति संलग्न हुनुपर्ने संविधानको परिकल्पना भन्दा बाहिर गएर प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीश मात्र बैठक बसेर संवैधानिक परिषद्बाट सिफारिस गरेको गरेकाले उक्त कार्य गैरसंवैधानिक भएको जिकिर रिटमा गरिएको छ।