नयाँ खिम्ती सब-स्टेशन आज प्रधानमन्त्रीले उद्घाटन गर्दै
रामेछाप । रामेछापको नयाँ खिम्ती सब-स्टेशनको आज (शनिबार) उद्घाटन गरिंदै छ । केही दिनदेखि सञ्चालनमा आएको यो सबस्टेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले मन्थली नगरपालिका देविटारमा उद्घाटन गर्ने कार्यक्रम छ ।
२२०/१३२ केभी क्षमताको सबस्टेशनमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादित ४५६ मेगावाट विद्युत् जोडिएको छ । यस्तै खिम्ती जलविद्युत् आयोजनाको ६० मेगावाट, लिखु ४ जलविद्युत् आयोजनाको ५२ मेगावाट र लिखु ‘ए’ जलविद्युत् आयोजनाको २२ मेगावाट विद्युत् यही सबस्टेशन हुँदै केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् ।
लिखु, खिम्ती र तामाकोसीमा निर्माणाधीन अरु जलविद्युत् आयोजनाको बिजुली समेत यही सबस्टेशनमा जोड्ने तयारी छ । नयाँ खिम्ती सबस्टेशनबाट दुई वटा प्रसारण लाइनबाट विद्युत् प्रवाह भइरहेको छ ।
१३२ केभी प्रसारण लाइनबाट काठमाडौंतर्फ र २२० केभी प्रसारण लाइनबाट ढल्केबरतर्फ विद्युत् प्रशारण हुने गरेको छ । नयाँ खिम्ती सबस्टेशन विद्युत् क्षमताका हिसाबले देशकै दोस्रो ठूलो हो । सबैभन्दा ठूलो ढल्केबर सबस्टेशनबाट पूर्व-पश्चिम प्रशारण लाइनमा विद्युत् वितरण र विस्तार गरिएको छ ।