२२ वर्षमा पहिलोपटक रुसले आफ्ना मात्रै अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष केन्द्रमा पठायो
काठमाडौँ– रुसले पछिल्लो २२ वर्षमा पहिलो पटक आफ्ना मात्रै अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको छ ।
रुसले दुई दिन अघि आफ्ना तीन अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष केन्द्रमा पठाएको हो ।
रुसी अन्तरिक्ष यान सोयुज एमएस – २१ मा पछिल्लो २२ वर्षमा पहिलो पटक अरु देशका बाहेक रुसी अन्तरिक्ष यात्री मात्रै अन्तरिक्षमा गएका हुन् ।
रुसी अन्तरिक्ष एजेन्सी रोसकोसमोसका अन्तरिक्ष यात्री ओलेग आर्तेमायेभ, डेनिस मात्वेयेभ र सर्गेइ कोर्साकोभ शुक्रबार अन्तरिक्ष केन्द्रमा पुगेका छन् ।
कजाकस्तानस्थित प्रक्षेपण केन्द्रबाट रुसी अन्तरिक्ष यान प्रक्षेपण गरिएको थियो । युक्रेनमाथि रुसले आक्रमण गरेपछि थुप्रै देशहरुले रुसमाथि प्रतिबन्ध लगाएका छन् ।
साथै, ती देशहरुले रुससँग तथा रुसले ती देशहरुसँगको अन्तरिक्ष अभियानमा रोक लगाएका छन् ।
युक्रेन युद्धका कारण उत्पन्न तनावका कारण अहिले अन्तरिक्ष केन्द्र तथा अन्तरिक्ष उडानका लागि अमेरिका र रुसबीच भएका थुप्रै किसिमका सम्झौता रोकिएको छ । एक अर्काका अन्तरिक्ष यात्रीलाई लैजाने तथा ल्याउने र आवश्यक तालिम प्रदान गर्नेलगायतका सम्झौता भएका थिए ।
अहिले अन्तरिक्ष केन्द्रमा १० जना अन्तरिक्ष यात्री छन् । पछिल्लोपटक पठाइएका तीनसहित पाँच रुसी, जर्मनीका एक, नासाका चार अन्तरिक्ष यात्री छन् ।
दुई रुसी र एक अमेरिकी अन्तरिक्ष यात्रा भने सोयुज एमएस–१९ क्याप्सुलमार्फत मार्च ३० मा पृथ्वी फर्किने कार्यक्रम छ ।