Nic Ad Nic Ad
Nic Ad Nic Ad

सात वायु सेवा कम्पनीले बुझाएनन् बक्यौता‚ कालोसुचीमा राख्ने प्राधिकरणको चेतावनी

बुधबार, मंसिर ७, २०७९
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने वायुसेवा कम्पनीलाई तत्काल बक्यौता रकम चुक्ता गर्न निर्देशन दिएको छ। ती कम्पनीहरुले ९ करोड १६ लाख बक्यौता नतिरेको पाइएको छ । तीन पटक पत्राचार गर्दा पनि बक्यौता तिर्न नआएपछि सञ्चालकहरूलाई कारबाही गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ। रकम बुझाउन पटक(पटक पत्राचार गरी तीन पटक सार्वजनिक सूचनासमेत जारी गरिए पनि अटेरी गरिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र रकम तिर्न भनेको छ । बक्यौता नागरिक उड्डयन प्राधिकरण ऐन‚ २०६७ अनुसार असुल गरी ती कम्पनी र व्यक्तिलाई हवाइसेवा‚ विमानस्थल तथा प्राधिकरणसँग सम्वद्ध कुनै काम तथा व्यापार गर्न नपाउने गरी कालोसूचीमा राख्ने चेतावनी पनि दिइएको छ । बक्यौता नतिर्नेमा दीपमणि राजभण्डारी अध्यक्ष रहेको नेकोन एयर‚ मणिन्द्रलाल रंजितकारको शिवानी एयर‚ प्रज्वल श्रेष्ठसहितको गोरखा एयर‚ प्रज्ञानसमशेर जबरासतिको माउन्टेन एयर‚ रवीन्द्रप्रसाद प्रधानसहितको कस्मिक एयर‚ आंगछिरिङ शेर्पासहितको स्काइलाइन एयरवेज र प्रज्वल श्रेष्ठसहितको एयर काष्ठमण्डप वायुसेवा कम्पनी रहेका छन् । प्राधिकरणका अनुसार नेकोनले ४ करोड ७२ लाख २५ हजार‚ शिवानीले ५५ लाख ५१ हजार‚गोरखाले २० लाख ३५ हजार‚ माउन्टेन एयरले ६ लाख १० हजार कस्मिकले ३ करोड ४७ लाख‚ स्काइलाइनले ७ लाख ८० हजार र काष्ठमण्डपले ७ लाख ३८ हजार तिर्न बाँकी छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्