श्रीलंकामा पेट्रोलियम पदार्थको चरम अभाव, लाइनमा बसेका दुईको मृत्यु
काठमाडौं । श्रीलंका पछिल्लो केही समययता इन्धन संकटको सामना गरिरहेको छ । श्रीलंकामा पेट्रोल र मट्टितेलको लागि निकै लामो लाइन लागेको छ । आइतबार दुई फरक फरक शहरमा लागेको लाइनमा दुई जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार इन्धनको लागि लाइनमा बसेका दुई वृद्धको मृत्यु भएको हो । दुवैको उमेर ७० वर्षको हाराहारीमा थियो । श्रीलंकन प्रहरी प्रवक्ता नलिन थालडुवाका अनुसार मृत्यु हुनेमध्ये एक जना अटोचालक थिए ।
उनी मधुमेह र मुटुको रोगको सामना गर्दै आएका थिए । अर्का एक जनाको उमेर भने ७२ वर्षको थियो । उनीहरु दुवैजना निकै लामो समयदेखि लाइनमा थिए । श्रीलंकाको वैदेशिक मुद्रा सञ्चिति निकै कमजोर बनेको छ । जसको कारण पेट्रोलियम पदार्थको आयातमा समस्या देखिएको छ । त्यसैले पेट्रोल, मट्टितेल र ग्यासको अभाव देखिएको छ ।
पेट्रोल पम्पमा निकै लामो लाइन देख्न सकिन्छ भने घण्टौंसम्म बिजुली कटौती हुन थालेको छ । श्रीलंकाको आर्थिक अवस्था यति कमजोर बनिसकेको छ कि कागज र प्रिन्टिङको मसी खरिद गर्ने पैसा नभएको भन्दै स्कुले विद्यार्थीको परीक्षा नै रोकिएको छ ।