शान्तिवार्तामा सहभागी रुसी अर्बपतिमा संदिग्ध विषको असर
काठमाडौँ– युक्रेन–बेलारुस सीमामा भएका शान्तिवार्तामा सहभागी रुसी अर्बपति रोमन अब्रामोभिचलाई संदिग्ध विषको लक्षण देखिएको उनी निकट स्रोतले जनाएको छ ।
यसै महिना भएको शान्ति वार्तामा सहभागी उनको आँखा र छालामा समस्या देखिएको थियो । चेल्सी फुटबल क्लबका मालिकसमेत रहेका अब्रामोभिच अहिले भने निको भइसकेका छन् ।
उनलाई जस्तै सोही शान्ति वार्तामा सहभागी दुई युक्रेनी अधिकारीमा पनि असर देखिएको उल्लेख गरिएको छ ।
शान्ति वार्तालाई नरुचाएका रुसका कट्टरपन्थीले उक्त संदिग्ध विषको प्रयोग गरेको समाचारमा दाबी गरिएको छ ।
संदिग्ध विषको प्रयोगबारे आरोप लागेपछि एक अमेरिकी अधिकारीले अब्रामोभिचमा देखिएका लक्षणलाई वातावरणीय प्रभाव भएको बताएका छन् ।
समाचार संस्था रोयटर्ससँगको कुराकानीमा उनले रुसी अर्बपतिमा देखिएका लक्षण विषका कारण नभइ वातावरणीय पक्षले भएको आफ्ना गुप्तचरी सूचनाबाट खुलेको बताएका छन् ।
यस्तै, युक्रेनको राष्ट्रपति कार्यालयका एक अधिकारीले समेत विष प्रयोग भएको भन्ने आरोपलाई अस्वीकार गरेका छन् । शान्ति वार्तामा सहभागी आफ्ना प्रतिनिधिमण्डलका सदस्यहरु ठीक भएको र उक्त खबर झुटो रहेको उनले बताएका छन् ।
तर, अब्रामोभिच निकट स्रोतले भने विष प्रयोगको घटना भएको र अनुसन्धानकर्ताले नियतवश रासायनिक तत्वको प्रयोग भएको निष्कर्ष निकालेका छन् । शान्ति वार्तामा सहभागी अब्रामोभिचको भूमिका कस्तो हो भन्ने प्रष्ट नखुले पनि उनले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको बुझ्न सकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:५८
प्रतिक्रिया दिनुहोस्