रुसद्वारा युक्रेनको मारिउपोलमा युद्धविराम घोषणा
काठमाडौं - रुसको रक्षा मन्त्रालयले युक्रेनको तटीय सहर मारिउपोलमा युद्धविराम घोषणा गरेको छ । युद्धविराम बिहीबार बिहानदेखि लागू हुने बीबीसीले बताएको छ । रुसले आम नागरिकलाई सुरक्षितरुपमा सहरबाट बाहिर निकाल्ने उद्देश्यका साथ युद्धविराम घोषणा गरेको हो ।
समाचार एजेन्सी एएफपीले बुधबार रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै लेखेको छ, ‘यो मानवीय अभियानको सफलताको लागि, हामी संयुक्त राष्ट्र शरणार्थी उच्चायुक्त र अन्तर्राष्ट्रिय रेड क्रस सहितको प्रत्यक्ष सहभागिताको प्रस्ताव गर्छौं ।’
मारिउपोलबाट जापोरज्झियासम्म मानवीय कोरिडोर स्थानीय समयअनुसार बिहान १० बजे खुल्ने छ । यद्यपि युक्रेनले यो घोषणालाई लिएर अहिलेसम्म केही उल्लेख गरेको छैन । मारिउपोलमा यसअघि पनि युद्धविरामको प्रयास भएको थियो । यद्यपि दुवै पक्षमा देखिएको विश्वासको अभावको कारण सम्भव हुन सकेको थिएन ।
रुसमाथि हजारौं नागरिकलाई रुस वा रुस नियन्त्रित क्षेत्रमा जबरजस्ती लैजाने गरेको आरोप लागेको छ । यसअघि मारिउपोल सहर बामबारीको कारण ध्वस्त भएको स्याटेलाइट तस्बिरहरु सार्वजनिक भएको थियो ।