१४ अर्ब ३७ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत
काठमाडौं - लगानी बोर्ड नेपालले सूर्यतारा सिमेन्ट परियोजनाको लागि १४ अर्ब ३७ करोड रुपैयाँको विदेशी लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो राति बसेको ५० औँ बोर्ड बैठकले सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन र व्यवस्थापनको लागि १४ अर्ब २७ करोड ५० लाख रुपैयाँको विदेशी लगानी स्वीकृत गरेको हो ।
यस्तै बैठकले नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययनको लागि जर्मनीको कम्पनीलाई अनुमति दिने पनि निर्णय गरेको छ । यस्तै, बैठकले ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको सम्बन्धमा प्रस्तावक कम्पनीले पेस गरेको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरेको छ । यस्तै, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको म्याद थप गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको समितिले दिएको प्रतिवेदनका आधारमा विकासकर्तासँग वार्ता गरेर समझदारीको लागि लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।
बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास तथा लगानीको ढाँचा र अरुण-३ जलविद्युत परियोजनाबाट प्राप्त हुने निःशुल्क बिजुली बिक्री तथा थप बिजुली खरिद गर्ने विषयमा विस्तृत अध्ययन गर्न योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा दुई वटा छुट्टा छुट्टै अध्ययन समिति पनि गठन गरेको छ । बैठकमा बैठकमा प्रधानमन्त्री देउवाले बढ्दो व्यापार घाटा, घट्दो रेमिट्यानस तथा कसिलो तरलताको समस्याबाट उन्मुक्ति पाउन गुणस्तरीय लगानी भित्र्याउनु पर्नेमा जोड दिए ।
बोर्डले गरेका प्रयासको सह्राना गर्दै उनले लगानी बोर्डले गरेका निणर्यहरु शीघ्रताका साथ कार्यान्वयन गर्न सबै मन्त्रालय र निकायलाई निर्देशन दिए । बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकले गरेका निणर्यहरुको कार्यान्वयन अवस्था, परियोजना कार्यान्वयन, सहजीकरण तथा विकास एवं संस्थागत सुधारका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।